२४ पौष ।सिमरा : लगातार दुई दिनदेखि लागेको हुस्सुको कारण सिमरा विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएको छ । सिमरा विमानस्थलबाट काठमाडौंका लागि हुने दैनिक ८ देखि ९ सम्म उडानहरू मध्ये मौसममा देखिएको खराबीका कारण (कम भिजिविलिटी) का कारण आज (बुधबार )पनि उडान प्रभावित भएको छ । ‘हामीकहाँ मौसमका कारण दुई दिन देखि नियमित हुँदै आएको हवाई उडानहरू प्रभावित भएको छ,सिमरा विमानस्थलका प्रमुख बिष्णु प्रसाद अधिकारीले भने, ‘मौसमको कारणले सबै उडानहरू स्थगित भएका छन्’।
सिमरा विमानस्थलबाट काठमाडौंको लागि बुद्ध एयरलाइन्सले दैनिक ७ वटा, यतिले २ उडान भर्दै आएका छन् । विमानस्थल कार्यालयले जनाएको छ । ‘प्राविधिक कारणले भन्दा पनि मौसमको कारणले पुस र माघको महिना यस्तै समस्या हुन्छ, नियमित उडानहरू तोकिएको समयमा गर्न सकिँदैन’ प्रमुख अधिकारीले भने ।सिमरा–काठमाडौ उडानको लागि २ हजार ३ सय भन्दा धेरै भिजिविलिटी आवश्यक पर्छ । तर भिजिविलिटी कम हुँदा उडानहरू प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
बारा, पर्सा, रौतहट, मकवानपुर, छिमेकी मुलुक भारतबाट दैनिक एक हजारदेखि १ हजार ५ सय यात्रुहरू सिमरा काठमाडौं आउजाउ गर्ने गर्दछन् । मधेस प्रदेशमा हुने राजनीतिक कार्यक्रममा सहभागी हुन आउने दलका नेता, कार्यकर्ता, काठमाडौंको पशुपतिनाथ, मुक्तिनाथ दर्शन गर्न जाने भारतीय पर्यटक, बारा–पर्सा औद्योगिक करिडोरका व्यवसायीदेखि मध्यमवर्गले पनि सिमरा–काठमाडौ आउजाउ गर्न उक्त विमानस्थल प्रयोग गर्ने गर्छन् ।