अखिलेश यादव।२७ बैशाख।रौतहट — कोरोना महामारीमा अल्पायुमै दिवंगत भएकी सञ्चारकर्मी तथा समाजसेवी स्वर्गीय श्रीमती रामा यादवको ३४औँ जन्मजयन्तीको अवसरमा गौरस्थित प्रादेशिक अस्पतालमा रहेका ६० जना बिरामीलाई फलफूल वितरण गरिएको छ। उक्त कार्यक्रम स्व. यादवका पति जयप्रकाश यादवको अगुवाइमा सम्पन्न भएको हो। “रामा बाँचुञ्जेल पनि आफ्नो जन्मदिन बिरामीसँग बिताउन चाहन्थिन्। त्यो अधुरो चाहना पूरा गर्न हामीले यसरी जन्मजयन्ती मनाएका हौं,” जयप्रकाश यादवले बताए।

सानैमा स्याटेलाइट टेलिभिजन खोलेर जिल्लालाई राष्ट्रिय पहिचान दिलाउने महिला
२०४८ साल वैशाख २७ गते रौतहटको माधवनारायण नगरपालिका–खेसरहिया गाउँमा जन्मिएकी रामा यादव आफ्नो जिवितकालमा ‘कसैको आँखामा आँसु नहोस्’ भन्ने आदर्श बोकेकी थिइन्। सामाजिक भावनाले ओतप्रोत र पत्रकारितामा समर्पित उनी सानै उमेरमै रौतहट जिल्लामा स्याटेलाइट टेलिभिजन स्थापना गरेर जिल्लालाई छुट्टै पहिचान दिलाउन सफल भएकी थिइन्।

रेड टेलिभिजनकी संस्थापक सञ्चालक रहनुका साथै उनी प्रेस युनियन रौतहटकी कोषाध्यक्ष पनि थिइन्। पत्रकारिता र मानव सेवामा उल्लेखनीय योगदान दिएकी रामा यादवको निधन २०७८ वैशाख २८ गते गौर अस्पतालमै कोरोना संक्रमणका कारण भएको थियो।

उनको नाममा स्थापना भएको पत्रकारिता पुरस्कार
श्रीमतीको निधनपछि जयप्रकाश यादवले ‘स्वर्गीय रामा यादव पत्रकारिता पुरस्कार’ स्थापना गरेका छन्, जसअन्तर्गत प्रत्येक वर्ष स्वास्थ्य क्षेत्रमा कलम चलाउने एक महिला पत्रकारलाई सम्मान गरिन्छ। चार छोरीकी आमा, एक आदर्श पत्नी र अग्रणी सञ्चार उद्यमीको रुपमा परिचित रामा यादवको स्मृतिमा गरिएको यो सामाजिक कार्यले उपस्थित सबैलाई भावुक बनाएको थियो।
