बारा, २३ जेठ। नेपाल–भारत सीमा क्षेत्रमा विपद् व्यवस्थापन कार्यमा आपसी समन्वय अभिवृद्धि गर्ने उद्देश्यले नेपाल र भारतका सुरक्षा निकायबीच संयुक्त फायर फाइटिङ सिमुलेसन अभ्यास सम्पन्न भएको छ। जिल्ला बाराको सुवर्ण गाउँपालिका–३ सन्तगञ्ज तथा भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्लाको महुवा ग्राम पञ्चायत वडा नं. १ कटगेनवा नजिक मुख्य सीमा स्तम्भ नं. ३७६/२३ स्थित दशगजा क्षेत्रमा बिहीबार बिहान उक्त अभ्यास सञ्चालन गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मटिअर्वा तथा भारतीय सशस्त्र सीमा बल (SSB) 71st Battalion, B Coy Mahuawa को संयुक्त आयोजनामा सम्पन्न उक्त अभ्यासमा दुवै पक्षका १५/१५ जना गरी कुल ३० जना सुरक्षाकर्मीको सहभागिता रहेको थियो।गर्मी मौसमसँगै बढ्दो आगलागीको जोखिम तथा त्यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले कृत्रिम आगलागीको घटना सिर्जना गरी आगो नियन्त्रण सम्बन्धी अभ्यास गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीले जानकारी दिए।
उक्त सिमुलेसन अभ्यास सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सीमा सुरक्षा गुल्म मटिअर्वाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष अधिकारी तथा भारतीय सशस्त्र सीमा बल (SSB) 71st Battalion, B Coy Mahuawa का एसआई ऋषभ सिंह रावतको उपस्थिति रहेको थियो।
यसैगरी सुवर्ण गाउँपालिका वडा नं. २ र ३ का वडा अध्यक्षहरू, स्थानीय जनप्रतिनिधिहरू तथा करिब ४०–५० जना स्थानीय बासिन्दाको सहभागिता रहेको थियो। उक्त अभ्यासले सीमा क्षेत्रमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्यमा नेपाल र भारतका सुरक्षा निकायबीचको सहकार्य, समन्वय र कार्यदक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

