जीतपुरसिमरामा झण्डोत्तोलन र रक्तदान कार्यक्रमसहित संविधान दिवस मनाइयो

पछिल्लाे समाचार

०३ असोज,जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले शुक्रबार विविध कार्यक्रममार्फत संविधान दिवस मनाएको छ।उपमहानगरपालिकाको प्राङ्गणमा नगर प्रमुख राजन पौडेलले राष्ट्रिय झण्डा फहराएर कार्यक्रमको शुभारम्भ गरेका थिए। २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दिनलाई स्मरण गर्दै यस वर्ष संविधान लागू भएको दश वर्ष पूरा भएको अवसरमा दिवस मनाइएको हो।

नगर प्रमुख पौडेलका अनुसार संविधानले सबै नागरिकलाई समान हक र अधिकार सुनिश्चित गरेको छ। स्थानीय तहबाट सेवा र सुविधा वितरणमा पनि समान पहुँच कायम गर्न संविधानले बाटो देखाएको भन्दै उनले सबैले संविधानको मर्मअनुसार काम गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा लोकतन्त्र र गणतन्त्रको लागि ज्यान आहुति दिने सहिदहरूको तस्बिरमा अविर र माला अर्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।

संविधान दिवसको अवसरमा उपमहानगरपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ जनाले रगतदान गरेका छन्। तीमध्ये १३ महिला रहेका थिए। प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईले रक्तदानलाई जीवन दानको अभियान भन्दै यस प्रकारका कार्यक्रमले सामाजिक उत्तरदायित्वको भावना बलियो बनाउने उल्लेख गरेका थिए। उनका अनुसार संविधानले दिएको अधिकारसँगै नागरिकले समाजप्रति दायित्व पनि निर्वाह गर्नुपर्ने हुन्छ, रक्तदान कार्यक्रम त्यसको एउटा उदाहरण हो।कार्यक्रममा उपप्रमुख भोलाप्रसाद अधिकारी, विभिन्न वडाध्यक्ष, कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय