हुस्सुको कारण सिमरा–काठमाडौं उडान दुई दिनदेखि प्रभावित

पछिल्लाे समाचार

पुष २० सिमरा ः लगातार दुई दिनदेखि लागेको बाक्लो हुस्सुका कारण सिमरा विमानस्थलबाट सञ्चालन हुँदै आएका नियमित हवाई उडानहरू प्रभावित भएका छन्। कम भिजिविलिटीका कारण आइतबार पनि सिमराबाट काठमाडौंका लागि हुने अधिकांश उडानहरू स्थगित भएका छन्। सिमरा विमानस्थल कार्यालयका प्रमुख विष्णु प्रसाद अधिकारीका अनुसार मौसम प्रतिकूल हुँदा पछिल्ला दुई दिनदेखि नियमित उडान सञ्चालन हुन सकेको छैन। “हामीकहाँ प्राविधिक कारणभन्दा पनि मौसमका कारण उडान प्रभावित भएको हो,” प्रमुख अधिकारीले भने, “कम भिजिविलिटीका कारण सबै उडानहरू स्थगित गर्नुपरेको छ।” सिमरा विमानस्थलबाट बुद्ध एयरलाइन्सले काठमाडौंका लागि दैनिक पाँचवटा उडान भर्दै आएको विमानस्थल कार्यालयले जनाएको छ।

तर पुस र माघ महिनामा हुस्सु र कुहिरो लाग्ने समस्या नियमितजस्तै हुने भएकाले तोकिएको समयमा उडान सञ्चालन गर्न कठिनाइ हुने गरेको अधिकारीले बताए। सिमरा–काठमाडौं उडानका लागि कम्तीमा २ हजार ३ सय मिटरभन्दा बढी भिजिविलिटी आवश्यक पर्ने भए पनि हाल भिजिविलिटी त्यसभन्दा निकै कम रहेकाले उडान अवरुद्ध भएको जनाइएको छ। कार्यालयका अनुसार पुस १ गतेदेखि पुस २० गतेसम्मको अवधिमा मात्रै आठ दिनसम्म सिमराबाट काठमाडौं जाने उडान पूर्ण रूपमा प्रभावित भएका थिए। सिमरा विमानस्थल बारा, पर्सा, रौतहट, मकवानपुर तथा छिमेकी मुलुक भारतका यात्रुहरूको मुख्य हवाई आवागमन केन्द्रका रूपमा रहेको छ।

दैनिक ५ सय देखि एक हजार सम्म यात्रुहरूले सिमरा–काठमाडौं उडान प्रयोग गर्ने गर्छन्। मधेस प्रदेशमा हुने विभिन्न राजनीतिक कार्यक्रमका सहभागी, काठमाडौंको पशुपतिनाथ तथा मुक्तिनाथ दर्शनका लागि जाने भारतीय पर्यटक, बारा–पर्सा औद्योगिक करिडोरका उद्योगी–व्यवसायी तथा मध्यमवर्गीय यात्रुहरू सिमरा विमानस्थलमा निर्भर रहने गरेका छन्। उडान प्रभावित हुँदा यात्रुहरू लामो समय विमानस्थलमै कुर्न बाध्य भएका छन् भने वैकल्पिक यातायात प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यात्रुहरूले हुस्सुका कारण बारम्बार उडान अवरुद्ध हुने समस्याको दीर्घकालीन समाधान खोज्न सरोकारवाला निकायसँग माग गरेका छन्।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय