परवानीपुर गाउँपालिकाको १७ औँ गाउँसभा सम्पन्न, उत्कृष्ट करदाता र वडा कार्यालय सम्मानित

पछिल्लाे समाचार

पुष २८ परवानीपुर : बाराको परवानीपुर गाउँपालिकाको १७ औँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमा सोमबार १७ औं हिउदे अधिवेसन सम्पन्न भएको छ । गाउँसभाको उद्घाटन गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी, उपाध्यक्ष सुगान्धी देवी कनुइन तथा प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।

अधिवेशनलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले स्थानीय सरकारको विकास र सेवा प्रवाहमा करदाताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले कर तिर्नु नागरिकको दायित्व मात्र नभई समग्र गाउँपालिकाको विकासमा प्रत्यक्ष योगदान हुने बताउँदै पारदर्शी र उत्तरदायी ढंगले संकलित राजस्वलाई जनताको हितमा सदुपयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अध्यक्ष कुर्मीले गाउँसभामार्फत विकासका प्राथमिकता तय गर्दै समावेशी र दिगो विकासतर्फ अघि बढ्ने लक्ष्य रहेको पनि स्पष्ट पार्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले आफ्नो भनाइ राख्दै आर्थिक अनुशासन, कर प्रशासनको सुदृढीकरण र सेवा प्रवाहको गुणस्तर सुधारमा गाउँपालिकाले निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँले समयमै कर बुझाउने करदाताले गाउँपालिकालाई आत्मनिर्भर बनाउने आधार तयार गर्ने उल्लेख गर्दै आगामी दिनमा कर संकलन प्रणालीलाई थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाइने जानकारी दिनुभयो। १७औँ गाउँसभाका अवसरमा ठूला करदातामध्ये आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा धेरै कर तिर्ने पहिलो र दोस्रो करदातालाई सम्मान गरिएको छ।

यसका साथै सोही आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व संकलन गर्ने वडा कार्यालयलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। सम्मान कार्यक्रमले करदाता र वडा कार्यालयलाई थप जिम्मेवार र प्रेरित बनाउने विश्वास व्यक्त गरिएको छ।गाउँसभामा गाउँसभा सदस्यहरू, वडा अध्यक्षहरू, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। अधिवेशनले आगामी नीति, कार्यक्रम र विकासका योजनाहरूमाथि छलफल गर्दै परवानीपुर गाउँपालिकालाई सुशासन र समृद्धिको दिशामा अघि बढाउने अपेक्षा गरिएको छ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय