बैशाख ०३ काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ ।नयाँ मूल्यसूचीअनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ ।
परिवर्तित मूल्यअनुसार, डिजल/मट्टीतेलको प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।
लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ ।

