२१ जेठ।बारा : बारा जिल्लामा रहेको पूर्वाधार विकास कार्यालय असार मसान्तको महत्वपूर्ण समयमा कार्यालय प्रमुखविहीन बनेपछि विकास निर्माणका काम प्रभावित हुन थालेका छन्। मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री महम्मद समिरको गृहजिल्लामै रहेको उक्त कार्यालयमा नेतृत्व अभाव हुँदा सरकारी कार्यसम्पादनमाथि प्रश्न उठ्न थालेको छ।
कार्यालय प्रमुख हेमन्त गाई करिब १० दिनदेखि मन्त्रालयमा हाजिर हुन थालेपछि कार्यालयको नियमित नेतृत्व खाली रहेको जनाइएको छ। बजेट खर्च, योजना सम्झौता तथा निर्माण कार्यलाई तीव्रता दिनुपर्ने समयमा प्रमुख नहुँदा करिब १ अर्ब ३९ करोड रुपैयाँ बराबरका योजना प्रभावित भएको कार्यालय स्रोतले जनाएको छ।
स्रोतका अनुसार हालसम्म आधाभन्दा कम योजनाको मात्रै सम्झौता भएको छ। निर्णय प्रक्रियामा ढिलाइ हुँदा विकास निर्माणका काम अघि बढ्न नसकेको र सेवाग्राहीहरू पनि विभिन्न प्रशासनिक कामका लागि समस्या भोग्न बाध्य भएका छन्।
कार्यालयकी सूचना अधिकारी तथा निमित्त प्रमुख आरती चौधरीले मन्त्रालयलाई पटक–पटक कार्यालय प्रमुख पठाउन आग्रह गरिए पनि हालसम्म कुनै व्यवस्था नभएको बताइन्। आफूलाई प्रशासनिक जिम्मेवारी मात्र दिइएको र अन्य निर्णय गर्न आवश्यक अधिकार नरहेको उनको भनाइ छ।प्रदेशभर पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै आएको मन्त्रालयकै गृहजिल्लामा यस्तो अवस्था देखिनुलाई स्थानीयले गम्भीर रूपमा लिएका छन्। सरोकारवालाहरूले मन्त्रालयको ध्यानाकर्षण गराउँदै तत्काल नेतृत्व व्यवस्थापन गरी रोकिएका योजना अघि बढाउन माग गरेका छन्।
यस विषयमा प्रतिक्रिया लिन मन्त्री समिरसँग सम्पर्क गर्ने प्रयास गरिए पनि उनको प्रतिक्रिया प्राप्त हुन सकेन। असार मसान्त नजिकिँदै जाँदा बजेट कार्यान्वयनको दबाब बढिरहेको अवस्थामा कार्यालय प्रमुखको अभावले विकास योजनाहरू थप प्रभावित हुने चिन्ता बढेको छ।

