साउन १२ बारा, । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पात उद्योगका श्रमिकले आफ्ना सेवा–सुविधा तथा श्रमिक अधिकारको माग गर्दै थालेको शान्तिपूर्ण आन्दोलन तेस्रो दिन पनि जारी राखेका छन्। श्रमिकका अनुसार उद्योगमा कार्यरत १०९ जनालाई श्रम ऐनबमोजिम पाउनुपर्ने सेवा–सुविधा, ट्रेड युनियन अधिकारको सुनिश्चितता तथा श्रमिक अधिकार कार्यान्वयनको माग उठाएकै कारण सेवाबाट हटाउने निर्णय गरिएको हो। श्रमिक नेता बेनि तिमल्सिनाले करिब डेढ महिनाअघि उद्योग व्यवस्थापनसमक्ष आफ्ना माग राखिएको भए पनि त्यसको सम्बोधन गर्नुको सट्टा आन्दोलनरत श्रमिकलाई कामबाट हटाउने निर्णय गरिएको आरोप लगाउनुभयो।
श्रमिकहरूले साउन १० गतेदेखि उद्योगको मूल गेटमा दैनिक एक घण्टा धर्ना, नाराबाजी र जुलुससहित शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै आएका छन्। आज तेस्रो दिन पनि उनीहरूले उद्योग परिसरबाहिर भेला भई आफ्ना माग पूरा गर्न आग्रह गरेका छन्। आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण रहे पनि प्रहरीले हस्तक्षेप गरेको श्रमिक पक्षको दाबी छ। आन्दोलनका क्रममा प्रहरी नायब उपरीक्षकसँग भएको छलफलमा उद्योग परिसरमा कुनै पनि प्रकारको आन्दोलन गर्न नदिन लिखित निर्देशन प्राप्त भएको जानकारी दिइएको श्रमिक नेता तिमल्सिनाले बताउनुभयो।
एक श्रमिकले उद्योग व्यवस्थापनले खाली कागजमा हस्ताक्षर गरेपछि मात्र काममा फर्कन दिने दबाब दिएको तथा उद्योगले स्थायी श्रमिकलाई हटाएर ठेक्का प्रणालीमार्फत काम गराउने तयारी गरेको आरोप लगाउनुभयो। श्रमिकहरूले संविधानले सुनिश्चित गरेको शान्तिपूर्ण भेला हुने, आफ्ना माग राख्ने तथा ट्रेड युनियन गतिविधिमा सहभागी हुने अधिकारमाथि हस्तक्षेप भएको बताएका छन्। उनीहरूले सरकार, श्रम तथा रोजगार कार्यालय, स्थानीय प्रशासन, मानवअधिकार आयोग, ट्रेड युनियन महासंघ, नागरिक समाज र सञ्चारमाध्यमलाई वार्ता र संवादमार्फत समस्याको कानुनसम्मत समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।

