“कोरोना प्रभाव” ट्राफिक कारबाहीमा घट्यो राजस्व

हेटौंडा–जिल्ला ट्राफिक कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७७–०७८ मा सवारीसाधनबाट करिब ३ करोड राजस्व संकलन गरेको छ । सवारीसाधनले नियम उल्लघंन गर्दा तथा विभिन्न प्रायोजनमा गरिएको कारबाहीबाट २ करोड ७१ लाख ६ हजार ५ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेले जानकारी दिए । आव २०७४–०७५ देखि गत आर्थिक वर्ष २०७७–०७८ सम्मको राजस्व संकलनको तथ्यांक हेर्दा चार वर्ष अवधिमा सबभन्दा धेरै आव २०७४–०७५ मा १६ हजार १ सय सवारीसाधनलाई कारबाही गर्दा १६ करोड ४९ लाख ६ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरको तथ्यांक छ ।

आव २०७५–०७६ मा १२ करोड ६५ लाख ७ हजार ५ सय राजस्व संकलन भएको थियो भने आव २०७६–०७७ मा १२ करोड ४७ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ । चार आर्थिक वर्षको तुलनामा गत आव २०७७–०७८ मा ३ करोडको हाराहारीमा मात्र राजस्व संकलन हुनुमा कोरोना भाइरस प्रभावका कारण जिल्लामा लागु भएको लकडाउन र निषेधाज्ञा प्रमुख भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुर प्रमुख प्रहरी निरीक्षक पाण्डेको भनाइ छ ।

जिल्लामा सञ्चालित सवारीसाधनहरु ट्रक, ट्यांकर, ट्याक्टर, बस, अटो, मयुरी, ट्रिपर, कार, मोटरसाइकल तथा अन्य सवारीसाधनहरु कारबाहीमा पर्दा अथवा राज्यको नियम उल्लंघन गरेर सवारीसाधन चलाउँदा गरिने कारबाहीस्वरुप राजस्व संकलन गरिँदै आएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ । आव २०७७–०७८ मा सबभन्दा धेरै राजस्व चैतमा ३१ लाख ५४ हजार संकलन भएको जनाइएको छ । आव २०७७–०७८ को सुरुवाती साउनमा ९ सय सवारीलाई कारबाही गर्दा ६ लाख ८० हजार ५ सय राजस्व संकलन गरेको थियो । भदौमा ९ सय ५० सवारीलाई कारबाही गर्दा ७ लाख ४५ हजार राजस्व संकलन भएको थियो भने असोजमा २ हजार ७ सय ५० सवारीलाई कारबाही गर्दा २५ लाख ६० हजार राजस्व संकलन गरिएको थियो ।

कार्तिकमा ३ हजार १ सय सवारीलाई कारबाही गर्दा २७ लाख ५९ हजार ५ सय राजस्व संकलन भएको थियो भने मंसिरमा ३ हजार १ सय ५० सवारी कारबाहीमा पर्दा २८ लाख १३ हजार ५ सय राजस्व संकलन भएको कार्यालयले जनाएको छ । पुसमा ३ हजार २ सय सवारी कारबाहीमा पर्दा २७ लाख ४७ हजार २ सय, माघमा ३ हजार ७ सय सवारीलाई कारबाही गर्दा ३० लाख १२ हजार ५ सय राजस्व संकलन भएको थियो । फागुनमा ३ हजार ५ सय सवारी कारबाहीमा पर्दा २७ लाख ७९ हजार संकलन भएको थियो भने चैतमा वर्षकै धेरै ४ हजार सवारीसाधनलाई कारबाही गर्दा ३१ लाख ५४ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ ।

बैशाखमा २ हजार ४ सय ५० सवारीलाई कारबाही गर्दा २० लाख २८ हजार ५ सय, जेठमा १ हजार ५ सय ५० सवारी कारबाहीमा पर्दा १३ लाख ८ हजार ५ सय राजस्व रकम संकलन भएको थियो भने आवको अन्तिम असारमा २ हजार ९ सय ८० सवारीलाई कारबाही गर्दा २५ लाख १८ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुर प्रमुख प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए । उनका अनुसार गत आर्थिक जर्षमा सबभन्दा धेरै ट्रक, ट्यांकर र ट्रिपरबाट धेरै राजस्व संकलन भएको छ । ट्रक, ट्यांकर र ट्रिपर गरी १३ हजार ३४ सवारीलाई कारबाही गर्दा कुल १ करोड १७ लाख ९ हजार ६ सय राजस्व संकलन भएको छ ।

२ हजार १ सय ३५ बसलाई कारबाही गर्दा १९ लाख १७ हजार, जिप र कार गरी ५ हजार ४ सय ७५ कारबाही गर्दा ४१ लाख ११ हजार राजस्व संकलन भएको थियो भने मोटरसाइकल ७ हजार ९ सय ९५ कारबाहीमा पर्दा ६६ लाख ४९ हजार ५ सय राजस्व संकलन भएको थियो । ट्याक्टर १ हजार २ सय १८ लाई कारबाही गर्दा ९ लाख ८९ हजार ५ सय राजस्व संकलन भएको थियो भने हेटौंडा बजार क्षेत्रमा धेरै चल्ने अटो, मयुरी र टेप्पो २ हजार ३ सय ७३ सवारी कारबाहीमा पर्दा १६ लाख ४३ हजार ५ सय राजस्व संकलन भएको प्रनि पाण्डेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here