केन्द्रको असर मधेश सरकारमा नपर्ने , सरकारलाई निरन्तरता दिने तीन दलको सहमति

पछिल्लाे समाचार

असार ३२ सिमरा : केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको राजनीतिक समीकरण परिवर्तन भएपछि विभिन्न प्रदेश सरकारको भविष्यबारे चर्चा भइरहेका बेला मधेश प्रदेशमा भने तत्काल कुनै परिवर्तन नहुने संकेत देखिएको छ। सरकारमा सहभागी दलहरूले वर्तमान गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहेको बताएका छन्। मधेश प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादवको नेतृत्वमा कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित सरकार सञ्चालनमा छ। प्रदेश सरकारको आगामी रणनीतिबारे मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव तथा अर्थमन्त्री युवराज भट्टराईबीच छलफल भएको छ।

छलफलपछि नेताहरूले प्रदेशको राजनीतिक अवस्था केन्द्रको समीकरणभन्दा फरक रहेको भन्दै हालको गठबन्धनलाई निरन्तरता दिने समझदारी कायम रहेको बताएका छन्। उनीहरूका अनुसार प्रदेश सरकार गठनअघि भएको सहमतिअनुसार गठबन्धनलाई चुनावसम्म लैजाने लक्ष्य यथावत् छ। एमाले संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेशमा सत्ता साझेदार दलहरूबीच कुनै विवाद नरहेको र सरकारलाई दिएको समर्थन कायमै रहने बताउनुभयो। उहाँले केन्द्रमा हुने राजनीतिक परिवर्तनलाई प्रदेशमा अनिवार्य रूपमा लागू गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै मधेशको राजनीतिक परिस्थिति आफ्नै सहमतिका आधारमा अघि बढ्ने धारणा राख्नुभयो।

अर्थमन्त्री युवराज भट्टराईले पनि मधेश प्रदेश सरकार विशेष राजनीतिक सहमतिका आधारमा गठन भएकाले अन्य प्रदेशको घटनाक्रमले यहाँको सरकारलाई तत्काल असर नगर्ने बताउनुभयो। हालै प्रदेशको बजेट सर्वसम्मत रूपमा पारित भएकाले सरकार विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अघि बढ्ने उहाँको भनाइ छ। राजनीतिक वृत्तमा केन्द्रको सत्ता समीकरणले प्रदेश सरकारहरूमा प्रभाव पार्ने चर्चा भइरहेका बेला मधेश प्रदेशमा भने सरकारमा सहभागी दलहरूले हालका लागि गठबन्धन यथावत् राख्ने स्पष्ट संकेत दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय