पर्साको दुई छुटाछुटै स्थानमा चट्याङ्ग लाग्दा १० जना घाईते ,दुईको अवस्था गम्भीर

पछिल्लाे समाचार

असार ३२ पर्सा : पर्सामा चट्याङका दुई छुट्टाछुट्टै घटनामा सात महिला किसानसहित १० जना घाइते भएका छन्। पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रको खेतमा धान रोपिरहेका बेला वर्षासँगै परेको चट्याङले सात जना महिला किसान घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने उनको अवस्था सामान्य रहेको छ। अन्य छ जनालाई थप उपचारका लागि भारतको रक्सौलस्थित डंकन अस्पताल लगिएको छ। उपचाररतमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको तथा अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

यसैगरी, पटेर्वा सुगौली गाउँपालिका–२ थरघटीमा बिहान करिब ७ बजेर १५ मिनेटमा चट्याङ लाग्दा दुःखी महतो धाङड, लालबाबु महतो उराँव र सूर्य महतो उराँव घाइते भएका छन्। उनीहरू राष्ट्रिय वन क्षेत्र नजिक पशु चौपाया चराइरहेका बेला चट्याङको चपेटामा परेका थिए। घाइतेमध्ये सूर्य महतो उराँवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको पेट र छातीमा चोट लागेको छ भने तीनै जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुवै घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ। वर्षायाममा चट्याङका घटना बढ्ने भएकाले सुरक्षित स्थानमा बस्न र मौसम प्रतिकूल भएका बेला खुला खेत तथा रुखमुनि नबस्न सम्बन्धित निकायले आग्रह गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय