असार ३२ निजगढ : सरकारसँग भइरहेको संवादलाई थप व्यवस्थित र परिणाममुखी बनाउन मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनले बिहिवार औपचारिक वार्ता टोली गठन गरेको छ।
आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा गठित टोलीमा महासचिव मनोजकुमार पासमान, प्रवक्ता रिजन राना मगर, हेडक्वार्टर सदस्य लक्ष्मी घिमिरे, किरण परियार तथा संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन सदस्य रहेका छन्। आगामी चरणका सबै वार्तामा यही टोलीले आन्दोलनरत पक्षको प्रतिनिधित्व गर्ने जनाइएको छ। मिटरब्याज पीडितहरूले असार २५ गते जनकपुरधामबाट ‘पैदल न्याय मार्च’ सुरु गरेपछि सरकार र आन्दोलनरत पक्षबीच बाराको निजगढमा गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा चार चरणको वार्ता सम्पन्न भइसकेको छ।
दुवै पक्षबीच छलफल सकारात्मक रूपमा अघि बढे पनि आन्दोलनकारीले उठाएका मुख्य मागहरूमा औपचारिक लिखित सहमति हुन नसक्दा वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन। आन्दोलनरत पक्षले सरकारसँग भएका सहमतिहरू स्पष्ट रूपमा लिखित रूपमै कार्यान्वयनको प्रतिबद्धता हुनुपर्ने अडान दोहोर्याएको छ। मौखिक सहमतिभन्दा कार्यान्वयनयोग्य लिखित सम्झौता आवश्यक रहेको उनीहरूको भनाइ छ। यसैबीच, सरकार र आन्दोलनरत पक्षबीच पुनः वार्ता हुने तयारी भइरहेको छ। आन्दोलनका नेताहरूले मागहरूको ठोस सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने र आवश्यक परे काठमाडौं केन्द्रित पैदल यात्रा पुनः अघि बढाइने बताएका छन्।बिगत ३ दिन देखि वार्ता जारि रहे पनि अहिले सम्मको वास्र्ता निष्कर्षबिहिन बन्दै आएको छ । आज हुने वार्ता बाट सहमति जुट्ने बुझिएकोले आजको वार्ता निर्णायक हुने मानिएको छ ।

