मिटरब्याज पीडितको ६ सदस्यीय वार्ता टोली काठमाडौं प्रस्थान

पछिल्लाे समाचार

असार ३२ निजगढ : सरकारसँगको वार्तालाई निर्णायक चरणमा पुर्‍याउने उद्देश्यसहित मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनले गठन गरेको ६ सदस्यीय वार्ता टोली आज (बिहिवार) काठमाडौं प्रस्थान गरेको छ। टोलीलाई आन्दोलनमा सहभागी मिटरब्याज पीडितहरूले बाराको निजगढबाट बिदाइ गरेका छन् भने अन्य आन्दोलनकारी वार्ताको अन्तिम निष्कर्ष नआएसम्म निजगढमै बस्ने भएका छन्। आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा गठन गरिएको वार्ता टोलीमा महासचिव मनोजकुमार पासमान, प्रवक्ता रिजन राना मगर, हेडक्वार्टर सदस्य लक्ष्मी घिमिरे, किरण परियार तथा संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन रहेका छन्।

अब सरकारसँग हुने औपचारिक वार्तामा यही टोलीले आन्दोलनरत मिटरब्याज पीडितहरूको प्रतिनिधित्व गर्ने जनाइएको छ। मिटरब्याज पीडितहरूले असार २५ गतेदेखि जनकपुरधामबाट काठमाडौं केन्द्रित ‘पैदल न्याय मार्च’ सुरु गरेका थिए। त्यसयता बाराको निजगढमा गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा लगातार तीन दिनसम्म सरकार र आन्दोलनरत पक्षबीच चार चरणको वार्ता भए पनि कुनै ठोस सहमति जुट्न सकेको छैन। आन्दोलनरत पक्षले सरकारले स्वीकार गरिसकेको ६ बुँदे सहमतिलाई लिखित रूपमा हस्ताक्षर गरी कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने अडान कायमै राखेको छ। यही कारण हालसम्मका वार्ता निष्कर्षविहीन बनेका हुन्। आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले काठमाडौंमा हुने आगामी वार्ता निर्णायक हुने विश्वास व्यक्त गर्दै मागको लिखित सम्बोधन नभएसम्म आन्दोलन जारी रहने र आवश्यक परे पैदल न्याय मार्च पुनः अघि बढाइने बताउनुभयो।

spot_imgspot_img
spot_img

लोकप्रिय