१३ फाल्गुन, वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब ४ अर्ब ७६ करोड मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ । गत आवको ७ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताए ।
“पूर्वाधार निर्माणको सिजन सुरु भएकाले पनि पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो”, उनले भने । गत आवको ७ महिनाको अवधिमा भने एक खर्ब ३ अर्ब ९२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो ।कार्यालयका अनुसार चालु आवको सात महिनाको अवधिमा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड राजस्व संकलन भएको छ । जबकी गत आवको सोही अवधिमा सबैखालको पेट्रोलियम पदार्थको आयातबाट ३८ अर्ब ६५ करोड राजस्व संकलन भएको थियो ।
चालु आवको ७ महिनामा ५१ अर्ब ७९ करोड बराबरको ५ लाख ८१ हजार ७ सय ९९ किलोलिटर डिजेल आयातबाट २३ अर्ब १० करोड राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । त्यस्तै चालु आवको सात महिनामा २२ अर्ब १४ करोड मूल्य बराबरको दुई लाख ५५ हजार पाँच सय ४२ किलोलिटर पेट्रोल आयात हुँदा १४ अर्ब ४९ करोड राजस्व संकलन भएको छ ।चालु आवको सात महिनाको अवधिमा २० अर्ब ९० करोड मूल्य बराबरको १८ करोड २९ लाख ९४ हजार छ सय २४ किलोग्राम एलपिजी आयात भएको छ । सो आयात हुँदा तीन अर्ब ९१ करोड राजस्व संकलन भएको छ ।