२५ असोज कलैया : बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–६ पानी टंकी नजिक रहेको इशरा पोखरीको डिलमा शनिबार बिहान माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। घर लिपपोत गर्नका लागि माटो खन्दै गर्दा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ। घटना बिहान करिब ८:५० बजेतिर भएको हो। घटना बारे जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक पवन पछाईंको कमाण्डमा १४ जना प्रहरी र सशस्त्र प्रहरी बल सिम्रौनगढ बारा बेशका प्रहरी सह–निरीक्षकको कमाण्डमा ७ जना सहितको टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो।
माटोको ढिस्कोमा पुरिएका ८ जनामध्ये सबैलाई तत्कालै निकालिएको भए पनि दुई जनाको मृत्यु भएको र अन्य छ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।मृतकमध्ये सिम्रौनगढ–६ सानो इटवालकी ७० वर्षीया शारदा देवी महतोको प्रादेशिक अस्पताल कलैयातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। त्यस्तै, सोही ठाउँका १५ वर्षीया सुनिल महतो (निरहुवा) लाई कलैया मेट्रो अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका छन्।
घटनामा घाइते हुनेहरूमा १४ वर्षीय साजन महतो, १५ वर्षीय नितेश महतो, १८ वर्षीय गौतम मुखिया, १४ वर्षीया रानी कुमारी महतो, १४ वर्षीया सुशिला कुमारी महतो र १५ वर्षीय राजा बाबु शर्मा रहेका छन्। तीमध्ये केहीको हातखुट्टा भाँचिएको वा चोट लागेको अवस्था रहेको भए पनि सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।इलाका प्रहरी कार्यालय सिम्रौनगढले थप अनुसन्धान तथा घटनाको कारणबारे बुझ्ने कार्य भइरहेको जनाएको छ।