अखिलेश यादव । १२ फाल्गुन,कलैया : पछिल्लो समय विवाह खर्चिलो बन्दै गएको छ । दहेजको प्रचलन भएका स्थानका विपन्न परिवारका लागि त विवाह झनै कष्टकर छ । विपन्न परिवारको यही बाध्यतालाई बाराको करैयामाई गाउँपालिकाले सम्बोधन गर्ने भएको छ । गाउँपालिकाले विपन्न परिवारका छोरा–छोरीको निःशुल्क सामूहिक विवाह गरिदिएर विपन्न परिवारलाई सहायता गर्न लागेको हो ।करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवले बैशाखको दोश्रो साता विपन्न परिवारका छोरा–छोरीको निःशुल्क सामुहिक विवाह गरिदिन लागेको बताएका छन् । १५ औं गाउँसभाबाट स्वीकृत कार्यक्रमअनुसार हुन लागेको विवाहका लागि दर्ता खुलेको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
गाउँपालिकाका अनुसार, इच्छुक व्यक्ति तथा अभिभावकले चैत्र १५ गतेसम्म करैयामाई गाउँपालिकाको प्रशासन शाखामा नाम दर्ता गराएर लाभ लिन सक्नेछन् ।आ–आफ्नै परम्परागत विधि विधान अनुसार जोडीको विवाह गर्ने गाउँपालिकाको तयारी रहेकोछ । बेहुला बेहुलीको लत्ता कपडासँगै भोज भतेर लगायत सम्पूर्ण व्यवस्थापन पनि गाउँपालिकालले नै गर्ने करैयामाई गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतले जारी गरेको सूचनामा उल्लेख छ ।गाउँपालिका अध्यक्ष यादवले पालिकाभित्र गरिब तथा विपन्न परिवारको बाहुल्य बढी रहेकाले उनीहरुका छोराछोरीको विवाह लाग्ने खर्च गाउँपालिकाले दिने गरी ‘सामूहिक विवाह’को योजना ल्याइएको बताए ।
सरकारले विवाह गर्न मान्यता दिएको उमेर (२० वर्ष) पुगेका र आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरीलाई नगरपालिकाले निःशुल्क रुपमा विवाह गरिदिन उनको भनाइ छ । निवेदन दर्ता भइसकेपछि पालिकाले २०८१ साल बैशाख ११ को एकैचोटी एउटै मण्डपमा सबै दुलाहादुलहीको विवाह गरिदिने कार्यक्रम रहेको करैयामाई गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र महतोले जानकारी दिए ।विवाहमा गाउँपालिकाले सबै दुलाहादुलही जोडीलाई एक‑एक जोड लुगा, दुलहीलाई चुरा, पोते, सिंगारका आवश्यक सामान र जन्तीलाई भोजभतेर तथा बासको व्यवस्था मिलाउनेछ ।