२५ चैत्र,बारा : मधेश प्रदेशका आठ वटै जिल्लामा सञ्चालित पत्रकार बीमा कार्यक्रममा गम्भीर अनियमितता भएको भन्दै नेपाल प्रेस युनियन बारा शाखाले गम्भीर ध्यानाकर्षण गराएको छ।
नेपाल पत्रकार महासंघ बारा शाखा र बारा जिल्लामा सञ्चालित विभिन्न मिडियाहरूको सिफारिसमा पत्रकारको हैसियत नभएका व्यक्तिहरूलाई समेत बीमा गरिएको भन्दै प्रेस युनियन बाराले आपत्ति जनाएको हो। नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादवद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकारको अधिकार र पहिचानमाथि प्रश्न उठ्ने खालका कार्य हुनु दुःखद रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ “पत्रकार हितका लागि सञ्चालन गरिएको बीमा कार्यक्रममा पत्रकार नभएका व्यक्तिहरूलाई बीमा गर्नुले साँचो अर्थमा पत्रकारिता गरिरहेका पेशागत पत्रकारहरूको हक कुण्ठित भएको छ। यसले सञ्चार क्षेत्रप्रतिको विश्वासमा आघात पुर्याएको छ।”प्रेस युनियन बाराले गैर–पत्रकार व्यक्तिहरूको बीमा प्रक्रिया तत्काल खारेज गरी घटनामा संलग्न निकाय र जिम्मेवार व्यक्तिहरूमाथि आवश्यक छानबिन गरी कारबाहीको माग समेत गरेको छ।
त्यसैगरी यथार्थ पत्रकारको प्रमाण र परिचयका आधारमा मात्र बीमा प्रक्रिया अघि बढाउन आग्रह गर्दै, अन्यथा बाध्य भएर आन्दोलनमा जानु पर्ने चेतावनी समेत दिएको छ।यस विषयले मधेश प्रदेशभरकै सञ्चार क्षेत्रमा चर्चा र बहसको विषय बनेको छ। अब सम्बन्धित निकायको धारणा र कदमप्रति सबैको ध्यान केन्द्रीत भएको छ।