०१ जेठ । नेकपा एमाले बाराका प्रचार प्रसार संयोजक पुरुषोत्तम साहलाई सात दिनको प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बाराले अनुमति दिएको छ। गोपनीयता सम्बन्धी कसूर र विद्युतीय कारोबार ऐन २०६३ विपरीतको मुद्दामा पक्राउ परेका साहलाई बुधबार अदालतले म्याद थप गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार साहसँगै घसुकपुर निवासी २२ वर्षीय विजय कुशवाहा र कलैया उपमहानगरपालिका वडा नम्बर ७ का दीपक राउत पनि पक्राउ परेका छन्। कलैया उपमहानगरपालिका वडा नम्बर ५ निवासी साहले आफ्नी तेस्रो श्रीमतीलाई निरन्तर मानसिक यातना दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उजुरी अनुसार साहले पत्नीमाथि विभिन्न आरोप लगाउँदै उनीसँग नबस्ने अडान लिँदै मानसिक यातना दिँदै आएका थिए।
साहको यो तेस्रो विवाह हो। पहिलो विवाह सामाजिक परम्पराअनुसार भएको थियो भने सम्बन्ध विच्छेदपछि दोस्रो विवाह गरेका थिए। दोस्रो पत्नीबाट पनि सम्बन्ध टुटेपछि उनले २०८१ साल पुष २८ गते तेस्रो विवाह गरेका थिए ।विवाहअघि साहले तेस्रो श्रीमतीको नाममा दुई कठ्ठा जग्गा पास गरेका थिए। तर पछि विभिन्न जालझेल गर्दै सो जग्गा पुनः आफ्नो नाममा फिर्ता गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
साहले तेस्रो श्रीमतीमाथि अर्कै युवकसँग प्रेम सम्बन्ध रहेको आरोप लगाउँदै सम्बन्ध विच्छेद गर्न दबाब दिने र उनका बाबुआमालाई समेत मानसिक यातना दिने कार्य गर्दै आएको प्रहरी स्रोतले बताएको छ। यिनै यातनाका कारण तेस्रो श्रीमतीले जिल्ला प्रहरी कार्यालय बारामा मंगलबार उजुरी दिएको थिइन्। साह वर्ल्ड लिंक कम्प्युटर इन्स्टिच्युटका सञ्चालक समेत हुन्।