३१ बैशाख,कलैया : बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नं. २ मा नयाँ सुविधा सम्पन्न वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। बुधबार आयोजित विशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले नवनिर्मित दुई तले भवनको उद्घाटन गर्नुभयो।२०७४ सालको स्थानीय तहको निर्वाचनपश्चात अस्थायी रूपमा भाडाको घरमा सञ्चालन हुँदै आएको वडा कार्यालय करिब ८ वर्षपछि आफ्नै भवनमा सरेको हो। अबदेखि स्थानीयवासीहरूले स्थायी भवनबाट सेवा लिन पाउने भएका छन्। वडाध्यक्ष सुरेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष यादव प्रमुख अतिथि रहनुभएको थियो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष सुरेन्द्र चौधरीले वडा कार्यालयको आफ्नै भवन नहुनु सेवा प्रवाहमा चुनौती बनेको उल्लेख गर्दै अब नयाँ भवनबाट सेवा दिन सहज हुने बताउनुभयो। उहाँले भन्नुभयो, “अब हाम्रो वडा कार्यालय साघुरो भाडाको घरबाट होइन, आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा दिनेछ। यसले सेवाग्राहीको समय र श्रम दुबै बचत हुनेछ।“कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले वडा कार्यालय भवन निर्माण सम्पन्न हुनु करैयामाईको पूर्वाधार विकासतर्फको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले भवन निर्माणमा संलग्न सबैलाई धन्यवाद दिँदै थप विकास निर्माणका कार्यहरूमा सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

उपाध्यक्ष सुनैना देवी चौधरीले नवनिर्मित भवनले स्थानीय तहलाई थप जिम्मेवार र पारदर्शी बनाउने विश्वास व्यक्त गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र महतोले पनि भवन निर्माणपछि सेवाहरूको गुणस्तर र गति दुवैमा सुधार आउने बताउनुभयो।नयाँ भवनमा आवश्यक फर्निचर, कम्प्युटर, इन्टरनेट सेवा लगायतका सुविधा उपलब्ध गराउने योजना रहेको वडा कार्यालयले जनाएको छ।कार्यक्रममा उपाध्यक्ष सुनैना देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र महतो, जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।