असोज ३१ कलैया : ७० औं प्रहरी दिवसको अवसरमा गत असार २४ गते रसुवामा आएको बाढीमा परेर ज्यान गुमाएका प्रहरी जवान मुन्ना ठाकुरकी परिवारलाई बारा प्रहरीले सम्मान गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय बारामा आयोजित श्रद्धाञ्जली अपर्ण तथा विशेष कार्यक्रममा स्वर्गीय ठाकुरकी श्रीमती गुन्जा ठाकुरलाई दोसल्ला ओढाएर र नगद सहित सम्मान गरिएको हो ।

प्रहरी विपद तथा राहत कोषबाट प्राप्त ६ लाख रुपैयाँ बराबरको चेक प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले संयुक्त रूपमा हस्तान्तरण गर्नुभयो । साथै, मधेश प्रदेश प्रहरी कार्यालयबाट प्राप्त ३५ हजार रुपैयाँ नगद समेत गुन्जा ठाकुरलाई प्रदान गरिएको थियो । फेटा गाउँपालिका–१ भलुही निवासी प्रहरी जवान ठाकुर गत असार २४ गते रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढी क्षेत्रमा आएको बाढीका बेला उद्धार कार्यमा खटिएका क्रममा बेपत्ता भएका थिए ।

लामो समय खोजी गर्दा पनि शव फेला नपरेपछि उनका परिवारजनले कुशको शव बनाएर श्रावण २३ गते हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरेका थिए । प्रहरी दिवसको उक्त कार्यक्रममा शहीद तथा कर्तव्यपालनका क्रममा ज्यान गुमाएका प्रहरी कर्मीहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै, उपस्थित अधिकारीहरूले प्रहरी परिवारको योगदान र त्यागको उच्च प्रशंसा गरेका थिए ।

