बेमौसमी वर्षाले बाराका किसान संकटमा, धानबालीमा ठूलो क्षति

पछिल्लाे समाचार

कार्तिक १६ कलैया : लगातार तीन दिनदेखि परेको बेमौसमी वर्षाले बाराका किसानहरूलाई ठूलो आर्थिक क्षति पुर्‍याएको छ। भित्राउने तयारीमा रहेका धानबाली खेतमै डुबानमा परेपछि जिल्लाका किसानहरू चिन्तित बनेका छन्। बुधबारदेखि परेको अविरल वर्षाले विशेषगरी जिल्लाको उत्तरी क्षेत्रका खेतहरूमा पानी जम्दा भिजेका धान काट्ने र उठाउने दुबै वेला कठिन बनेको किसानहरूको गुनासो छ।जिल्लाको कोल्हवी, निजगढ, जीतपुरसिमरा उपमहानगरपालिका र करैयामाई गाउँपालिकालगायतका क्षेत्रमा हाइब्रिड जातका मसिनो धान र कर्तनी धान काट्ने बेला पानीले बिगारेपछि खेतमै सड्ने अवस्था आएको छ। “धान काट्ने मानिसै पाइएन, टेक्टर र मेशिनले काटेका धान पनि तीन दिनदेखि खेतमै भिजेर नोक्सान भएको छ,” जीतपुरसिमरा–१७ रामनगरका किसान रामलाल महतोले भने।

कृषि प्राविधिकहरूका अनुसार खेतमा लामो समय पानी जमिरहँदा धानको बोटमा ढुसी लाग्ने, दाना कालो हुने र उत्पादनमा ३०–४० प्रतिशतसम्म ह्रास हुने सम्भावना रहेको छ। स्थानीय कृषि ज्ञान केन्द्र बाराका प्रमुखले बताए अनुसार, हाल किसानहरूलाई क्षतिको विवरण संकलन गरी राहत प्रस्ताव मन्त्रालयमा पठाउने तयारी भइरहेको छ। “क्षतिको प्रारम्भिक अनुमान अनुसार, जिल्लाको करिब १५ सय हेक्टर धानबाली प्रभावित भएको छ,” उनले जानकारी दिए। तर यो वर्षा सबैका लागि नकारात्मक सावित भएको छैन। तोरी र मकै लगाउने किसानहरूका लागि यो पानी लाभदायक बनेको छ।

माटो भिजेकाले तोरी र मकैको बिउ छर्न सजिलो भएको र अंकुरण दर पनि राम्रो हुने अपेक्षा किसानहरूले व्यक्त गरेका छन्। यस्तै, पशुपालन गर्ने किसानका लागि पनि वर्षाले राहत दिएको छ। लामो समयदेखि जमिन सुख्खा भएकाले घाँस र हरियो चारा अभावमा रहेका किसानहरू अहिले माटो भिजेपछि घाँसका बीउ छर्ने काममा जुटेका छन्।बाराका किसानहरू भने हालका क्षतिपछि सरकारबाट उचित राहत र क्षतिपूर्तिको अपेक्षा गरिरहेका छन्।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय