कार्तिक ०६ रौतहट : रौतहटको गौर नगरपालिका–५ का पूर्व वडाध्यक्ष राम स्वार्थ राय यादवको मृत्यु भएको छ । बुधबार अपरान्ह करिब ४ः१५ बजे करेन्ट लागेर घाइते हुनुभएका यादवलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा ल्याई चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आफ्नै खेतबारीमा मोटरको तारबाट अचानक करेन्ट लागि पूर्व वडा अध्यक्ष यादव घाइते हुनु भएको थियो ।
शवलाई पोस्टमार्टमको लागि अस्पतालमै राखिएको र घटना सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । नेकपा एमाले जिल्ला कमिटि सदस्य रहनुभएका यादवको मृत्युले पार्टीलाई अतुलनीय क्षति भएको युवा संघ नेपालका केन्द्रीय सदस्य बजरंगी गुप्ताले बताउनु भयो ।यादव २०७९ को चुनावमा लोसपा बाट वडाध्यक्षमा निर्वाचित भएको थियो ।रौतहटमा पछिल्लो केहि महिना देखि करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्दै गईरहेको छ ।केहि महिना पहिला बौधिमाई नगरपालिकामा एक जना वडाध्यक्ष समेत करेन्ट लागेर मृत्यु भएको थियो ।

