अखिलेश कुमार यादव, २४ भदौ, कलैया ।
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरूले देशभर आक्रोशित आन्दोलन गरिरहेका बेला बारामा पनि आज बिहानैदेखि विभिन्न ठाउँमा विरोध प्रदर्शन जारी छ । आन्दोलन चर्किँदै गएपछि सुरक्षा संवेदनशीलताका कारण जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलद्वारा जारी गरिएको आदेश अनुसार, आज दिउँसो २:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म कलैया उपमहानगरपालिका भित्रका क्षेत्रहरू—पूर्वतर्फ पासाहा खोला, पश्चिमतर्फ गण्डक नहर, उत्तरतर्फ बडहर्वा चौक र दक्षिणतर्फ दुर्गा माध्यमिक विद्यालयसम्म—कर्फ्यू लागु हुने जनाइएको छ । साथै गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ २०० मिटर भित्र पनि कर्फ्यू लागू गरिएको छ ।
कर्फ्यू अवधिभर कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा वा आवतजावत गर्न पूर्ण रूपमा निषेध गरिएको छ । यद्यपि अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानव अधिकारकर्मी, कूटनीतिक नियोगका सवारी साधन तथा हवाई यात्रुहरूको आवतजावतमा भने सुरक्षाकर्मीले सहजीकरण गर्ने जनाइएको छ । आज बिहानैदेखि कलैया, जीतपुरसिमरा लगायतका क्षेत्रमा युवाहरूले सडक अवरुद्ध गर्दै सरकारविरुद्ध विरोध प्रदर्शन गरिरहेका थिए । स्थिति नियन्त्रणबाहिर जाने सम्भावना देखिएपछि प्रशासनले कडा कदमका रूपमा कर्फ्यू आदेश जारी गरेको हो ।