कलैया, २४ भदौ ।देशभर फैलिएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा भएको जनहानिले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पदबाट राजीनामा दिन बाध्य बनाएको छ। उनले सोमबार पार्टी अध्यक्ष डा. सीके राउतको निर्देशनमा पदत्याग गर्दै सार्वजनिक वक्तव्यमा आफूले यो निर्णय “आत्मसम्मानपूर्वक” लिनु परेको उल्लेख गरेका छन्।
राजीनामा घोषणा गर्दै सिंहले आन्दोलनमा ज्यान गुमाउने प्रदर्शनकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले भनेका छन्, “देशभर जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान जानु मेरो लागि असह्य पीडा र गहिरो दुःखको विषय बनेको छ। दिवंगत आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।”
उनले जनताको विश्वास र मतबाट निर्वाचित भएर जनप्रतिनिधि बन्नु जीवनकै ठूलो गौरव भएको तर नागरिकको जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले आफूलाई निर्णय लिन बाध्य बनाएको उल्लेख गरे। “नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु,” उनले भने।
जेन–जी आन्दोलन सुरु भएपछि अहिलेसम्म दुई ठूला राजीनामा सार्वजनिक भएका छन्। गृहमन्त्री रवि लेखकले आइतबार साँझ पदत्याग गरेका थिए भने सोमबार मधेशका मुख्यमन्त्री सिंहले राजीनामा दिएका हुन्। आन्दोलन चर्कँदै गएपछि अन्य प्रदेश र संघीय तहका नेताहरूमाथि पनि दबाब बढेको देखिन्छ।सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक भ्रष्टाचारविरुद्ध सुरु भएको आन्दोलनमा अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ भने ३४७ जना घाइते भएका छन्। विभिन्न ठाउँमा कर्फ्यु आदेश जारी छ भने सुरक्षा निकाय उच्च सतर्कतामा छन्।