२५ भदौ ,बाराः हालै देशभर भएका आन्दोलन र प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएपछि बारा जिल्लामा बुधबार समेत कर्फ्यू आदेश जारी गरिएको छ । बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान ६:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म कर्फ्यू आदेश लागू गरिएको जानकारी दिएका छन् ।
उनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाइने बताएका छन् ।प्रशासनले पूर्वमा रौतहट जिल्ला,पश्चिममा पर्सा जिल्ला , उत्तरमा मकवानपुर जिल्ला,र दक्षिणमा भारतको सिमा सम्म कर्फ्यु जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी पौडेलले आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमाथि आक्रमण भई जनजीवन अस्तव्यस्त भएकाले थप क्षति रोक्न नेपाली सेना सहित सबै सुरक्षा निकाय परिचालन गरिएको उल्लेख गरेका छन् । साथै, उनले नागरिकलाई शान्त रहन, संयमित हुन र आ–आफ्नो घरमै बस्न हार्दिक अपिल गरेका छन् ।
यद्यपि, कर्फ्यू अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकारकर्मी, कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकट भएका यात्रुहरुको आवतजावतमा भने सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले स्पष्ट पारेको छ ।