भ्रष्टाचार अन्त्य गर नारासहित बाराका शहरमा जेनजीहरूको प्रदर्शन

पछिल्लाे समाचार

अखिलेश कुमार यादव । २४ भदौं, कलैया : काठमाडौंमा सोमबार भएको जेनजी (Gen Z) युवाहरूको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा ठूलो जनहानि भएपछि देशभर आक्रोश फैलिएको छ। त्यसको प्रत्यक्ष असर मंगलबार बिहानैदेखि बाराको विभिन्न सहरहरूमा देखिएको छ, जहाँ युवाहरू आन्दोलनको रूपमै सडकमा उत्रिएका छन्। मंगलबार बिहानैदेखि बाराको सदरमुकाम कलैया, निजगढ, जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, नितनपुरलगायत ठाउँका मुख्य सडकहरूमा जेनजी आन्दोलनकारीहरू जम्मा भएर सडक अवरोध गरेका छन्। उनीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै मुख्य मार्गहरू बन्द गराएका छन्। प्रदर्शनकारीहरू “केपी ओली मुर्दावाद”, “हामीलाई बोल्न दे सरकार”, “यो सरकार चाहिँदैन”, “भ्रष्टाचार अन्त्य गर” जस्ता नाराहरू लगाउँदै सरकारको नेतृत्व, नीतिनियम, र पछिल्लो समय देखिएको ‘दमनकारी’ शैलीको विरोध गरिरहेका छन्।

oplus_0

सोमबार काठमाडौंमा भएको आन्दोलनमा केही प्रदर्शनकारीहरू घाइते र केहीको निधन भएको खबर सार्वजनिक भएसँगै, देशभरका युवाहरूमा आक्रोश चुलिएको छ। सामाजिक सञ्जालमा आन्दोलनलाई दमन गरिएको आरोप लगाउँदै जेनजीहरू पुनः संगठित भएका छन्।बाराका प्रदर्शनहरू पनि यही घटनाको प्रतिक्रियास्वरूप भएको स्थानीय युवाहरू बताउँछन्। “हामी शान्तिपूर्ण रूपमा बोल्न खोज्दा सरकारले हामीलाई दमन गर्‍यो,” जीतपुरको आन्दोलनमा सहभागी सुरज गुप्ताले भने, “अब त हामी बोल्नैपर्छ, नत्र हाम्रो भविष्य नै खोसिन्छ।”

स्थिति नियन्त्रणमा लिनका लागि स्थानीय प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। केही ठाउँमा प्रहरीले प्रदर्शनकारी हटाउने प्रयास गर्दा तनाव सिर्जना भएको देखिएको छ। यद्यपि, हालसम्म बारामा कुनै ठूलो झडपको खबर आएको छैन।सडक अवरोधका कारण स्थानीय यातायात ठप्प भएको छ। कलैया र निजगढ जस्ता व्यस्त सहरमा व्यवसाय बन्द छन्, यात्रुहरू बीच बाटोमै रोकिएका छन्। स्थानीय व्यवसायीहरू र सर्वसाधारणले असुविधा भए पनि युवाहरूका माग उचित भएको भन्दै आन्दोलनप्रति सहानुभूति व्यक्त गरेका छन्। हालको प्रदर्शन यद्यपि आक्रोशपूर्ण देखिए पनि, जेनजी युवाहरूले आन्दोलनलाई अहिंसात्मक रूपमा अगाडि लैजाने प्रतिबद्धता जनाएका छन्।

यो आन्दोलन सन् 2020 पछिको विश्वव्यापी जेनजी (Gen Z) आन्दोलनहरूसँग मेल खाने खालको देखिएको छ, जहाँ युवाहरू सामाजिक सञ्जालको माध्यमबाट संगठित हुँदै, राज्यसंस्थासँग जवाफदेहीताको माग राख्दै सशक्त रूपमा उत्रिरहेका छन्। नेपालको सन्दर्भमा यस्तो युवा आन्दोलन विगत दशकमा कमै देखिएको हो, जसले सत्तासीन पक्षलाई सोच्न बाध्य बनाएको छ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय