बिरगंज, २४ भदौ : साना तथा मझौला उद्योग (MSME) प्रवर्धनका लागि सहज वित्तीय पहुँच सुनिश्चित गर्न नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (NIMB) प्रदेश कार्यालय बिरगंज र जीतपुरसिमरा उद्योग वाणिज्य सङ्घ (JSCCI) बीच सोमबार सम्झौतापत्र (MOU) मा हस्ताक्षर गरिएको छ। सम्झौतामा NIMB प्रदेश कार्यालय बिरगंजका प्रमुख श्रीराम गिरी र सङ्घका अध्यक्ष मोहन शर्मा लामिछानेले हस्ताक्षर गरी आदान–प्रदान गरेका हुन् । सम्झौता अनुसार, सङ्घमा दर्ता तथा नवीकरण भएका साना तथा मझौला उद्यमी तथा व्यापारीहरूले चाडपर्व लक्षित ‘फास्ट ट्र्याक’ प्रविधिबाट अधिकतम २ करोड रुपैयाँसम्मको लगानी सुविधा प्राप्त गर्ने सक्नेछन् ।
उक्त अवसरमा हालै मात्र बारा जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा पदभार ग्रहण गरेका प्रकाश पौडेल र इलाका प्रशासन कार्यालय सिमरामा प्रमुखको जिम्मेवारी सम्हालेका राजेन्द्र प्रसाद कडेललाई सङ्घले स्वागत तथा परिचय गराएको थियो । सो क्रममा व्यापार व्यवसायको अवस्था र सुरक्षासम्बन्धी चुनौतीबारे अन्तरक्रियात्मक छलफल समेत गरिएको थियो ।
कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिव, कार्यसमिति सदस्य, सल्लाहकार, बस्तुगत समितिका अध्यक्ष–प्रतिनिधि तथा सञ्चारकर्मीहरूको भव्य उपस्थिति रहेको थियो ।त्यसैगरी किराना व्यवसायी सङ्घ सिमरालाई बस्तुगत समितिको मान्यता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी पौडेल र इलाका प्रशासन प्रमुख कडेलले प्रमाणपत्र प्रदान गरेका थिए । साथै समितिका अध्यक्ष सूर्य त्रिपाठीसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई पदीय जिम्मेवारीको प्रमाणपत्र समेत वितरण गरिएको थियो ।