२४ भदौ । काठमाडौं – सरकारले फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाएको छ। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल हटाउन नहुने अडान लिएका थिए। विदेशी कम्पनीहरूले नेपाललाई हेपेको भन्दै उनले यसलाई राष्ट्रिय स्वाभिमानसँग जोडेर व्याख्या गरेका थिए।
ओलीले नागरिकले पनि यो पक्षलाई बुझ्नुपर्ने बताएका थिए। तर, कांग्रेसका केही मन्त्रीहरूले ओलीको अडानमा असहमति जनाउँदै बैठकमा विवादसमेत भएको स्रोतले बताएको छ। बैठकपछि सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल पुनः सञ्चालनमा आइसकेको जानकारी दिए। उनले भने, “सामाजिक सञ्जाल शुरु भइसक्यो।”
दर्ताका लागि गरिएको ताकेतामा सामाजिक सञ्जाल सञ्चालकहरूले ‘तपाईँको देशमा भ्रष्टाचार छ, त्यसैले सूचीकरण हुँदैन’ भन्ने जवाफ दिएको दाबी पनि मन्त्री गुरुङले गरे।यसैबीच, प्रधानमन्त्री ओलीले राजीनामा दिने कि नदिने भन्ने प्रसंगबारे सञ्चारकर्मीले राखेको प्रश्नमा प्रवक्ता गुरुङले “प्रधानमन्त्रीले अहिले राजीनामा दिनुहुन्न” भन्ने प्रतिक्रिया दिएका छन्।