२७ वर्षपछि बकुलिया खानेपानी आयोजनाको अधुरो पाइपलाइन विस्तार तथा पुनः मर्मतको कार्य सुरु

पछिल्लाे समाचार

मंसिर २२ बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित बकुलिया खानेपानी आयोजना स्थापना भएको झन्डै २७ वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ। लामो समयदेखि अलपत्र अवस्थामा रहेको आयोजना पुनर्जीवनका लागि सोमबार एक कार्यक्रमबीच अधुरो पाइपलाइन विस्तार तथा मर्मत–सम्भार कार्यको शिलान्यास गरिएको छ। कार्यक्रममा बोल्दै मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले ओभरहेड ट्यांकी वर्षौअघिनै बने पनि खानेपानी वितरण हुन नसक्नु स्थानीयका लागि दुःखको विषय भएको बताए। अब उपमहानगरको पहलमा ‘बुलेटको रफ्तारमा’ काम गर्ने विश्वास उनले व्यक्त गरे ।प्रदेशसभा सदस्य चौधरीले दशकौंदेखि खेर गइरहेको पानी अब उपभोक्ताको घर–घरमा पुग्नेमा आफ्नो विश्वास व्यक्त गर्दै स्वास्थ्यकर पानी खानु नागरिकको मौलिक अधिकार भएको उल्लेख गरे। खानेपानी संचालन समितिका उपाध्यक्ष अनिल गुप्ताले पाइप विस्तारका क्रममा कुनै पनि अवरोध नआउने गरी स्थानीय, जनप्रतिनिधि र सबै पक्षबीच एकता आवश्यक रहेको बताए।

नगरप्रमुख राजन पौडेलले उपमहानगरपालिकाले आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरी पाइपलाइन विस्तार र पुनः मर्मतको काम सुरु गरिएको जानकारी दिए। पहिलोपटक टेन्डर आह्वान गर्दा ठेकेदार नआएको कारण ढिलाइ भएको उनले बताए। अब भने ६ महिनाभित्र पहिलो चरण सम्पन्न गरी खानेपानी समितिलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको उनको भनाइ छ। “खानेपानी सञ्चालनमा आर्थिक अभाव नआउने छ,” मेयर पौडेलले भने। पाइप विस्तारका क्रममा पर्खाल वा संरचना हटाउनुपर्ने अवस्थामा राजनीतिकरण नगरी शान्तिपूर्ण समन्वय गर्न उनले जनप्रतिनिधि र स्थानीयसँग आग्रह गरे। उपमहानगरको इन्जिनियर सञ्जीव रुपाखेतीका अनुसार पहिलो चरणको पाइपलाइन विस्तार तथा मर्मत कार्य २ करोड ५७ लाख ४४ हजार रुपैयाँको लागतमा अघि बढाइनेछ।


पहिलो चरणमा मुख्य सडकको पूर्वपट्टि, वडा नं. ५ र ७ का अधिकांश बस्तीमा पाइप विस्तार हुनेछ। पश्चिमपट्टिको भाग भने आगामी वर्ष बजेटमार्फत अघि बढाइने योजना रहेको बताइयो।पूर्व गाबीसा अध्यक्ष कृष्ण व्रत सिंहले बकुलिया खानेपानी आयोजनाको पूर्ण निर्माणका लागि स्थानीयको निरन्तर सहयोग आवश्यक रहेको बताए। “ढिलो भए पनि राम्रो काम सुरु हुन लागेको छ,” उनले भने, “खेर जाँदै आएको पानी अब घर–घरमा पुग्ने छ, यो नै सबैभन्दा ठूलो उपलब्धि हो।”

वडाध्यक्ष दिपेन्द्र चौधरीले आयोजना अलपत्र रहँदा स्थानीय बकुलियावासीले दशकौँदेखि शुद्ध खानेपानी पाउन नसकेको बताउँदै अब सपना पुरा हुन लागेकोमा खुशी व्यक्त गरे।
उनका अनुसार पुरानो खानेपानी समितिको गैरजिम्मेवारी र समन्वयहीनताका कारण योजना वर्षौसम्म रोकिएको थियो। नयाँ समिति गठनसँगै काम अघि बढ्न थालेको उनको भनाइ छ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय