बैशाख ०४ सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाले अस्पताल अगाडिको उत्तरतर्फ रहेका सटरहरू खाली गराउन जारी गरेको सूचनामाथि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले रोक लगाएको छ। माननीय न्यायाधीश पूर्णश्वरप्रसाद उपाध्यायको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उपमहानगरले चैत २६ गते जारी गरेको सटर खाली गराउने सूचना हालका लागि कार्यान्वयन नगर्न निर्देशन दिएको हो।

विमला अधिकारीसहितका निवेदकले उपमहानगरको निर्णयविरुद्ध निषेधाज्ञा माग गर्दै अदालतमा निवेदन दिएका थिए। सोही निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले दुवै पक्षबीच छलफल आवश्यक देखिएको भन्दै तत्कालका लागि यथास्थिति कायम राख्न आदेश दिएको हो। अदालतले विपक्षी जीतपुरसिमरा उपमहानगरपालिकासहित सम्बन्धित निकायलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। साथै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न वैशाख ११ गतेको पेशी तोकिएको छ।

यसअघि उपमहानगरपालिकाले वडा नं. २ अन्तर्गत पथलैया–वीरगञ्ज ६ लेन सडकको पश्चिम किनारमा, नगर अस्पताल जाने बाटोको उत्तरतर्फ रहेका सटरहरू २०८३ वैशाख ६ गतेभित्र अनिवार्य रूपमा खाली गर्न सूचना जारी गरेको थियो।
सूचनामा तोकिएको समयसीमा भित्र सटर खाली नगरेमा सामान जफत गर्ने, सटर हटाउने र सो कार्यमा लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनी समेत दिइएको थियो।
तर अदालतको पछिल्लो आदेशसँगै उक्त प्रक्रिया हालका लागि रोकिएको छ।

