बैशाख ०४ सिमरा : संघीय सरकारले तय गरेको शैक्षिक क्यालेन्डरभन्दा अगाडि बढ्दै जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यालय भर्ना र अध्ययन अध्यापन आफ्नै समयतालिकाअनुसार सञ्चालन गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको कार्यालयले शुक्रबार जारी गरेको पत्रअनुसार सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई वैशाख ७ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न र वैशाख १४ गतेदेखि नियमित पठनपाठन सुरु गर्न निर्देशन दिइएको हो।
यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले वैशाख १५ गतेदेखि भर्ना अभियान र वैशाख २१ गतेदेखि अध्ययन अध्यापन सुरु गर्न देशभर परिपत्र गरेको थियो। तर, उक्त समयसीमा लागू गर्दा विभिन्न समस्या देखिने भन्दै उपमहानगरले वैकल्पिक निर्णय लिएको जनाएको छ।
उपमहानगरपालिकाका अनुसार स्थानीय सरोकारवालाहरूले वैशाख १५ गतेदेखि भर्ना र वैशाख २१ गतेदेखि पठनपाठन सुरु गर्दा विद्यार्थीको अध्ययनमा अवरोध हुने, पाठ्यक्रमअनुसार वार्षिक कार्यघण्टा नपुग्ने, शिक्षाको गुणस्तरमा ह्रास आउने तथा विद्यालय सञ्चालन हुने दिन पर्याप्त नहुने चिन्ता व्यक्त गरेका थिए। यही कारण यथाशीघ्र भर्ना र पढाइ सुरु गर्न आग्रह आएपछि उपमहानगरले समय अगाडि सार्दै निर्णय गरेको हो।
वैशाख ३ गतेको नगर प्रमुखस्तरीय निर्णयका आधारमा जारी निर्देशनमा हप्ताको दुई दिन (शनिवार र आइतबार) विद्यालय बन्द रहने र शुक्रबारसमेत पूरा समय (१०:००–४:००) कक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ। सरकारको परिपत्रलाई बेवास्ता गर्दै स्थानीय तहहरूले आ–आफ्नै निर्णय लिन थालेपछि देशभर एकरूप शैक्षिक प्रणाली कार्यान्वयनमा चुनौती थपिएको देखिएको छ।

