०३ चैत वीरगञ्ज: वीरगञ्ज महानगरपालिकाले लामखुट्टेको बढ्दो प्रकोपलाई लक्षित गर्दै विषादी छर्ने अभियानलाई थप प्रभावकारी बनाएको छ। मंगलबारदेखि महानगरले एयर स्प्रे (फगिङ) विधि प्रयोग गर्दै साँझको समयमा वयस्क लामखुट्टे नष्ट गर्ने काम सुरु गरेको हो।
यसअघि पम्प स्प्रेमा मात्र सीमित रहेको अभियान अब बिहान र दिउँसो लार्भा अवस्थाका लामखुट्टेलाई नियन्त्रण गर्न पम्प स्प्रे तथा साँझमा फगिङमार्फत वयस्क लामखुट्टे नियन्त्रण गर्ने गरी विस्तार गरिएको सरसफाइ अधिकृत सर्फुदिन मियाँले जानकारी दिए।
गर्मी मौसम सुरु भएसँगै वीरगञ्ज क्षेत्रमा लामखुट्टेको संख्या बढ्न थालेपछि महानगरले ३२ वटै वडामा पुग्ने गरी तालिकाबद्ध रूपमा विषादी छर्ने कार्यक्रम अघि बढाएको छ। विशेषगरी चिसो सकिएपछि र वर्षायाम सुरु हुनुअघि यस्तो समस्या बढी देखिने भएकाले वर्षमा कम्तीमा दुई पटक नियमित अभियान सञ्चालन गर्ने गरिएको महानगरले जनाएको छ।
महानगर प्रमुख राजेशमान सिंहका अनुसार लामखुट्टेको टोकाइबाट सर्ने डेंगु र मलेरिया जस्ता रोगको जोखिम न्यूनीकरण गर्न अभियानलाई प्राथमिकता दिइएको हो। उनले नागरिकलाई घर वरिपरि पानी जम्न नदिन, नियमित सरसफाइ गर्न र महानगरको अभियानमा सहयोग गर्न आग्रह गरेका छन्।

