०३ चैत , धनुषा : जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक मनोज कुमार यादवलाई २०८२ साल फागुन महिनाका लागि ‘Police of the Month’ घोषणा गरेको छ। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गत भर्ना छनोट शाखामा दरबन्दी भई धनुषामा कार्यरत निरीक्षक यादवले फागुन महिनाभर उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनपछि उक्त सम्मान प्रदान गरिएको प्रहरीले जनाएको छ।
विशेषगरी फागुन १९ गते आयोजित मिथिला माध्यमिकी अन्तर्गृह परिक्रमा मेला र त्यसको भोलिपल्ट परेको होली पर्वका क्रममा उनले प्रभावकारी सुरक्षा रणनीति तयार गरी सफल कार्यान्वयन गरेका थिए। सो अवसरमा प्रहरी परिचालनलाई चुस्त बनाउँदै दुवै कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उनले नेतृत्वदायी भूमिका खेलेका थिए। यस्तै, फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा पनि उनको भूमिका उल्लेखनीय रह्यो।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन उनले विस्तृत सुरक्षा योजना निर्माण गरी प्रभावकारी रूपमा लागू गरेका थिए। जिल्लाका सबै मतदानस्थल र केन्द्रमा सुरक्षा व्यवस्थापन, नियमित मोबाइल गस्ती, निगरानी तथा सरोकारवाला निकायसँग समन्वयमा उनले सक्रियता देखाएका थिए। मतदानको दिन मोबाइल कमाण्डरको जिम्मेवारी सम्हाल्दै उनले मतदानस्थलको सुरक्षा, मतपेटिकाको सुरक्षित संकलन र मतगणनास्थलको व्यवस्थापनमा समेत महत्वपूर्ण योगदान दिएका थिए।
उनको कर्तव्यनिष्ठा, पेशागत दक्षता र सेवाप्रति समर्पणलाई उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले उनलाई उक्त उपाधिबाट सम्मानित गरेका हुन्।

