चैत ०४ काठमाडौं : एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा अवतरणका क्रममा दुर्घटनामा परेको छ। कम्पनीका अनुसार नाइन एन–एएफक्यू दर्ता नम्बरको हेलिकोप्टर मध्याह्न ११:५१ बजे केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसी क्षेत्रमा अवतरण गर्ने क्रममा असामान्य अवस्था सिर्जना भएपछि दुर्घटनाग्रस्त भएको हो। काठमाडौंबाट बालाबेंसीतर्फ उडेको उक्त हेलिकोप्टरमा चालकसहित ६ जना सवार थिए। प्रारम्भिक विवरणअनुसार सबै यात्रु तथा पाइलट सकुशल रहेका छन् भने मानवीय क्षतिको कुनै खबर प्राप्त भएको छैन।
घटनापछि उद्धारका लागि अर्को हेलिकोप्टर घटनास्थल पुगेको थियो। सो हेलिकोप्टरले पाइलट र एक घाइतेलाई काठमाडौं ल्याउँदै गरेको जनाइएको छ। अन्य चार यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। एयर डाइनेस्टीका वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितका अनुसार दुर्घटनाको कारण पत्ता लगाउन प्रारम्भिक छानबिन सुरु गरिएको छ। कम्पनीले सम्बन्धित निकायहरूसँग समन्वय गरेर थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

