जीतपुरको सडक अतिक्रमण अन्त्य गर्ने उपमहानगरको तयारी

पछिल्लाे समाचार

२० चैत,सिमरा : बाराको जीतपुर क्षेत्रमा ६ लेन सडक अतिक्रमण गरी सञ्चालन हुँदै आएको व्यापार हटाइने भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका ले शनिवारसम्म अतिक्रमण हटाउन सम्बन्धित सबैलाई निर्देशन दिँदै अन्तिम चेतावनी जारी गरेको छ। नगरप्रमुख राजन पौडेल को अध्यक्षतामा बसेको नगरस्तरीय सर्वपक्षीय छलफलले उक्त निर्णय गरेको हो। प्रमुख प्रशासकीय अधिकृत डम्बरु प्रसाद निरौला का अनुसार तोकिएको समयभित्र अतिक्रमण हटाइएन भने आइतबार बिहान ८ बजेदेखि सडक डिभिजन कार्यालय हेटौंडा, उपमहानगरपालिका र प्रहरी प्रशासनको समन्वयमा सडक तथा फुटपाथ खाली गराइनेछ।

उपमहानगरपालिकाले स्वेच्छाले संरचना हटाउन आग्रह गर्दै अटेर गरे बल प्रयोग गरी हटाइने र नियम उल्लंघन गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ। नगरप्रमुख पौडेलले अब अतिक्रमणविरुद्ध सम्झौता नगर्ने संकेतसमेत दिएका छन्। यसअघि पनि उपमहानगरपालिका र वडा नं. ७ कार्यालयले पटक–पटक सूचना जारी गरे पनि व्यवसायीले अटेरी गर्दै आएका थिए। हटाइएका संरचना पुनः निर्माण हुने क्रम रोकिएको थिएन। सडक अतिक्रमणका कारण दैनिक आवतजावतमा समस्या उत्पन्न हुनुका साथै ट्राफिक व्यवस्थापन प्रभावित हुँदै आएको छ।

यसले दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ। फुटपाथमा व्यापार सञ्चालन भइरहेकै कारण केही महिनाअघि सटर भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायीहरूले सडक अवरुद्ध गरी आन्दोलन समेत गरेका थिए। उपमहानगरपालिकाले साना तथा स्वरोजगार व्यवसायीलाई पूर्ण रूपमा विस्थापित नगर्ने नीति लिँदै वैकल्पिक व्यवस्थापनको तयारीसमेत अघि बढाएको जनाएको छ। व्यवस्थित बजार क्षेत्र निर्माणमार्फत दीर्घकालीन समाधान खोजिने बताइएको छ। तर विगतमा पटक–पटक प्रयास गर्दा पनि अतिक्रमण स्थायी रूपमा हट्न नसकेको अनुभवका कारण यसपटक पनि निर्णय कार्यान्वयन हुन्छ कि हुँदैन भन्नेमा अन्योल कायमै रहेको छ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय