२१ चैत,सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहामा दाजु–भाइबीचको अंश विवादले अहिले गम्भीर रूप लिएको छ। पारिवारिक सम्पत्तिको विषयमा सुरु भएको झगडा अहिले कुटपिट, धम्की र कानुनी लडाइँसम्म पुगेपछि पीडित पक्ष मिडियामा आएर न्यायको माग गर्न बाध्य भएको हो।
स्थानीय कासिम मियामाथि आफ्नै सगा भाइ हासिम मियाको पैत्रिक अंश हडपेको गम्भीर आरोप लागेको छ। पीडित हासिम मियाले पत्रकार सम्मेलन गरेर दाबी गरेअनुसार बाबुआमाबाट प्राप्त करिब २० बिघा जग्गा विभिन्न बहाना बनाएर, किर्ते कागजात तयार पारेर र झुक्याएर हस्ताक्षर गराई दाजु कासिम मियाले आफ्नो नाममा ल्याएका हुन्। पछि आफूले आफ्नो हिस्सा माग गर्दा “यो सबै मेरो मात्रै हो” भन्दै अंश दिन अस्वीकार गरिएको उनको भनाइ छ।
हासिम मियाका अनुसार यो विवाद केवल कागजी खेलमा सीमित छैन। उनले दाजुले पटक–पटक धम्की दिने, गुण्डा लगाएर कुटपिट गराउने, ज्यान मार्ने धम्की दिने जस्ता गम्भीर आरोपसमेत लगाए। उनका अनुसार घरमै आक्रमण गराइएपछि उनीहरूलाई आफ्नै पैतृक घरबाट निकालिएको छ र अहिले परिवार सिमरा बजार क्षेत्रमा बस्न बाध्य भएको छ। पीडितकी बहिनी शैरा खातुनले पनि दाजुको व्यवहारका कारण परिवार निरन्तर त्रासमा बाँचिरहेको बताइन्। उनले भनिन्, “अंश माग्दा उल्टै दमन हुन्छ, घरमै मान्छे बोलाएर कुटपिट गराइन्छ।” उनले प्रहरीमा पटक–पटक उजुरी गर्दा समेत सुनुवाइ नभएको र उल्टै आरोपितलाई संरक्षण गरिएको जस्तो महसुस भएको आरोप लगाइन्।
हासिम मियाले मालपोत कार्यालय र वडा कार्यालयमा आफू उपस्थित नभई कसरी जग्गा दाजुको नाममा नामसारी भयो भन्ने गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार अहिले अदालतमा मुद्दा विचाराधीन छ र अदालतमार्फत करिब ८२ कित्ता जग्गा रोक्का गराइसकिएको छ। तर पनि कासिम मियाले विभिन्न बहाना बनाएर जग्गा अन्य व्यक्तिको नाममा सार्ने प्रयास गरिरहेको आरोप पीडित पक्षको छ।
हासिम अन्सारीकी छोरीले पनि भावुक हुँदै भनिन् कि आफ्नै आँखाअगाडि बुबाआमामाथि कुटपिट र दुर्व्यवहार भइरहेको देखेर पनि केही गर्न नसक्नु सबैभन्दा ठूलो पीडा भएको छ। उनले आफूलाई समेत धम्की आउने गरेको बताइन्। यो घटना केवल एउटा परिवारको झगडा मात्रै नभएर समाजमा बढ्दै गएको अंशसम्बन्धी विवाद, पारिवारिक विश्वासको टूट, र कानुनी प्रक्रियामा देखिने कमजोरीको उदाहरणका रूपमा हेरिएको छ। पैतृक सम्पत्तिको सही बाँडफाँड नहुँदा यस्ता विवादहरू हिंसात्मक रूप लिन सक्ने खतरा बढ्दै गएको देखिन्छ। अहिले पीडित परिवारले न्यायका लागि अदालतदेखि लिएर प्रधानमन्त्रीसम्म जाने बताएका छन्

