पोखरेल र झा लाई ‘रामा यादव स्मृति’ पत्रकारिता पुरस्कार प्रदान

पछिल्लाे समाचार

रौतहट । सञ्चार क्षेत्रमा सक्रिय दुई महिला पत्रकारलाई यस वर्षको ‘रामा यादव स्मृति’ पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । शारदा पोखरेल र चाँदनी झा लाई स्वास्थ्य तथा सामाजिक मुद्दामा निरन्तर कलम चलाएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो । स्वर्गीय सञ्चार उद्यमी रामा यादव को पाँचौं पुण्यतिथिको अवसरमा रामा यादव स्मृति प्रतिष्ठान द्वारा रौतहट सदरमुकाम गौरस्थित जिल्ला समन्वय समिति रौतहट को सभाहलमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको हो ।

प्रतिष्ठानकी संयोजक अनु यादव को अध्यक्षता तथा मिडिया काउन्सिल मधेश प्रदेश का कार्यवाहक अध्यक्ष सुरेश यादव को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकारिता क्षेत्रमा महिला सहभागिता र योगदानबारे विशेष चर्चा गरिएको थियो । प्रतिष्ठानका संरक्षक जयप्रकाश यादव ले ‘रामा यादव स्मृति’ पत्रकारिता पुरस्कार २०८१ बारा जिल्लाबाट रातोपाटी अनलाइनकी संवाददाता शारदा पोखरेललाई तथा २०८२ को पुरस्कार महोत्तरी खुट्टा पिपराठी–४ निवासी टिभी टुडेमा कार्यरत चाँदनी झालाई प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए । पुरस्कारसँगै दोसल्ला, सम्मानपत्र तथा नगद राशिसमेत प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुरेश यादवले बदलिँदो समयसँगै पत्रकारितामा चुनौती थपिँदै गएको उल्लेख गर्दै सञ्चारकर्मी आफ्नो हक–अधिकार, पेशागत सुरक्षा र प्रेस स्वतन्त्रताको पक्षमा एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । उनले पत्रकारलाई “आवाजविहीनहरूको आवाज” को संज्ञा दिँदै जिम्मेवार र सकारात्मक पत्रकारिताले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यसैगरी रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल ले तराई–मधेश क्षेत्रमा महिला पत्रकारको संख्या अझै न्यून रहेको अवस्थामा चुनौतीका बीच तथ्यपरक र निष्पक्ष रिपोर्टिङ गरिरहेका महिला पत्रकारहरूको भूमिका प्रशंसनीय रहेको बताए । उनले स्वास्थ्य, शिक्षा, महिला अधिकार तथा सामाजिक विकृतिविरुद्ध निरन्तर कलम चलाइरहेका पत्रकारप्रति सम्मान व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट का अध्यक्ष सन्जय कार्की लगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, सञ्चारकर्मी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
विश्वव्यापी कोरोना महामारीका क्रममा २०७८ साल बैशाख २८ गते स्वर्गीय रामा यादवको निधन भएको थियो । उहाँ जयरामा मिडिया प्रा.लि. द्वारा सञ्चालित रेड टिभी, रेड पोष्ट र रेडखबर लगायत सञ्चारमाध्यममार्फत मधेशको सञ्चार क्षेत्रमा सक्रिय र सफल सञ्चार उद्यमीको रूपमा परिचित हुनुहुन्थ्यो । उहाँको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले हरेक वर्ष पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारलाई सम्मान गर्दै आएको छ ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय