जेठ ०३ कलैया : बाराको मटिअर्वा क्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त रूपमा सीमा सरसफाइ कार्यक्रम सञ्चालन गरेका छन् । शनिवार सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मटिअर्वा, बाराका सशस्त्र प्रहरी कर्मचारी तथा भारतीय सशस्त्र सीमा बल (एस.एस.बी.) का सुरक्षाकर्मीहरूको संयुक्त सहभागितामा सीमा दशगज्जा क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो ।
सीमा क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित राख्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा दशगज्जा आसपासका सडक, सार्वजनिक स्थल तथा खुला क्षेत्रहरूमा सरसफाइ गरिएको थियो । कार्यक्रममा सहभागी सुरक्षाकर्मीहरूले फोहोर संकलन गर्नुका साथै स्थानीयवासीलाई पनि वातावरण संरक्षण तथा सरसफाइप्रति सचेत गराएका थिए ।
कार्यक्रमले सीमा क्षेत्रमा स्वच्छ वातावरण कायम गर्न सहयोग पुग्नुका साथै नेपाल र भारतका सुरक्षा निकायबीच आपसी समन्वय, सहकार्य तथा मित्रवत सम्बन्धलाई थप मजबुत बनाएको बताइएको छ । दुवै देशका सुरक्षा अधिकारी तथा जवानहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमले सीमा क्षेत्रमा सामाजिक तथा वातावरणीय उत्तरदायित्व निर्वाहमा समेत सकारात्मक सन्देश दिएको छ ।

