जेठ ०६ गते सिमरा : बारामा आर्थिक कारोबार र घरजग्गा सम्बन्धी विवादले नयाँ मोड लिएको छ । आफ्नै मिल्ने साथीबाट ठगिएको आरोप लगाउँदै व्यवसायी बिरेन्द्र साह कानु मिडियासामु आएका छन् भने आरोपित पक्षले ती सबै दाबी अस्वीकार गरेको छ । कलैया उपमहानगरपालिका–३ भवानीपुर घर भई हाल सिमरामा “घरआगन स्वीट्स” सञ्चालन गर्दै आएका बिरेन्द्र साह कानुले मंगलबार पत्रकार सम्मेलन गर्दै आफू विश्वासकै आधारमा ठूलो धोका खाएको बताएका हुन् । साहका अनुसार उनले आन्तरिक राजस्व कार्यालय वीरगञ्जमा कार्यरत नायब सुब्बा नैमुदिन अन्सारीसँग १७ लाख रुपैयाँ सापटी लिएका थिए । उक्त रकमको मासिक ५१ हजार रुपैयाँ ब्याज नियमित नगद बुझाउँदै आएको उनको दाबी छ ।
उनले आफू बैंकको कालोसूचीमा परेका कारण आपसी सहमतिमा सिमरास्थित १० धुर जग्गामा बनेको दुई तल्ले घर अन्सारीकी श्रीमती शब्नम खातुनको नाममा पास गरिएको बताए । त्यसपछि सोही सम्पत्तिको आधारमा बैंकबाट करिब ७० लाख रुपैयाँ ऋण निकालिएको उनको भनाइ छ । साहका अनुसार जग्गा पास गर्ने दिन अन्सारीले आधारका रूपमा एउटा ब्ल्याङ्क चेक, ३५ लाख रुपैयाँ बराबरको चेक तथा अर्को २५ लाख रुपैयाँको चेक आफ्नो नियन्त्रणमा राखेका थिए । अहिले भने अन्सारीले घरजग्गा नै आफ्नो भएको दाबी गर्दै १ करोड ४३ लाख रुपैयाँ मागिरहेको उनले आरोप लगाए । पत्रकार सम्मेलनमा भावुक बनेका साहले आफू १७ लाख रुपैयाँ सापटी र बैंकको ७० लाख रुपैयाँ गरी कुल ८७ लाख रुपैयाँ तिर्न तयार रहेको बताए ।
साहले जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत सुलेमान अन्सारी र जिल्ला अदालत बारामा कार्यरत राजेश यादवले समेत आफूलाई दबाब र धम्की दिएको आरोप लगाए । “अदालत हाम्रो हातमा छ, तिमीले केही गर्न सक्दैनौ” भन्ने धम्कीसमेत आफूले खेपिरहेको उनको दाबी छ । यस्तै, इलाका प्रहरी कार्यालय सिमरामा आफूविरुद्ध झुट्टा मुद्दा दर्ता गरिएको आरोपसमेत उनले लगाए । आफूले न्याय नपाए परिवारसहित आत्मदाह गर्न बाध्य हुने चेतावनी उनले दिएका छन् । यता, आरोपित नैमुदिन अन्सारीले भने आफूमाथि लगाइएका सम्पूर्ण आरोप अस्वीकार गरेका छन् ।
उनले व्यवसायी साहले आफ्नो चरित्रहत्या गर्न खोजेको दाबी गर्दै चाँडै प्रमाणसहित पत्रकार सम्मेलन गर्ने बताएका छन् । अन्सारीले आफू कानुनी प्रक्रियाअनुसार अघि बढिरहेको र वास्तविकता छिट्टै सार्वजनिक हुने दाबी गरेका छन् । विश्वास, मित्रता र आर्थिक कारोबारबीचको यो विवाद अहिले बारामा चर्चाको विषय बनेको छ । एकातर्फ साथीमाथिको विश्वास टुटेको पीडा छ भने अर्कोतर्फ कानुनी प्रक्रियामार्फत वास्तविकता बाहिर ल्याउनुपर्ने चुनौती देखिएको छ ।

