१२ मंसिर महागढीमाई बारा। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रदेशको बारामा लाग्ने विश्वप्रसिद्ध पञ्चवर्षी गढीमाई मेलाको तयारीबारे जानकारी लिएका छन् । मुख्यमन्त्री सिँहले गढीमाई मेलाका लागि भइरहेको तयारीबारे स्थलगत जानकारी लिएको यो तेस्रोपटक हो । महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित गढीमाई मन्दिर क्षेत्रमा मेलाका लागि सुरक्षा प्रबन्धन, खानेपानी, शौचालय, प्रकाश र सरसाजवट आदि व्यवस्थापनको अवलोकनपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री सिँहले संयोग र सौभाग्यले आफ्नो कार्यकालमा प्रदेशका दुई पालिकामा दुई महत्त्वपूर्ण मेला लाग्ने अवसर जुरेकाले मेला व्यवस्थापन प्रभावकारी बनाउन प्रदेश सरकार व्यवस्थापकीय कार्यमा प्रत्यक्ष र तीव्रताका साथ साझेदारी गरिरहेको बताए ।
उनले पाँच वर्षको अन्तरालमा महागढीमाई नगरपालिकामा लाग्ने गढीमाई मेला र जनकपुरधाममा पाँच वर्षमा थप भव्यतापूर्वक हुने रामजानकी विवहोत्सवमा सहभागी हुने श्रद्धालुभक्तजनहरूलाई अप्ठ्यारो महसुस हुन नदिन प्रदेश सरकारले खानेपानी, शौचालय, प्रकाश आदिको पर्याप्त व्यवस्था गरेको र मेला भर्नेहरूका लागि दाउरा व्यवस्थापन गर्ने कार्य गर्ने जानकारी दिए ।
उनले मेलालाई व्यवस्थित र भव्य बनाउन महागढीमाई नगरपालिकाका मेयर तथा मेला व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र यादवको कार्यको सराहना समेत गरे । दाउरा संकलन गर्न रकम चाहिन्छ तथा उपलब्ध गराउन सेवाग्राहीले राजस्व तिर्नुपर्ने हुन्छ । तर, गढीमाई र रामजानकी विवाहोत्सवमा सहभागी हुनेहरूका लागि मन्त्रिपरिषद्बाटै निर्णयर गराएर वन मन्त्रालयलाई प्रदेश सरकारले नै रकम तिरेर दाउरा उपलब्ध गराउने प्रयास गर्नेछु,’ मुख्यमन्त्री सिँहले भने ।
उनले मेला व्यवस्थापनका लागि स्थानीयले पहिचान गरेका आवश्यकताका आधारमा प्रदेश सरकारले पचास लाख रुपैयाँ खर्च गरिरहेको उल्लेख गरे । महागढीमाई नगरपालिकाका मेयर तथा मेला व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र यादवले गढीमाई मेला खास धर्म, समुदाय र पार्टीको नभएर मदेश तथा देशकै पहिचान भएको भन्दै मेला व्यवस्थापनमा मुख्यमन्त्री सिँहले देखाएको तदारुकता र सदाशयताको सम्मान गर्नुपर्ने बताए ।
उनले भने, ‘मुख्यमन्त्री सिँहजस्ताले गर्दा नेतामाथिको भरोसा कायम भएको छ ।’ नेपाली काँग्रेसबाट निर्वाचित मेयर यादवले सरकारमा काँग्रेस रहेको भए पनि पार्टीका नेता र मन्त्रीले मेलाका सन्दर्भमा क्रियाशीलता नदेखाएको भन्दै पार्टीभन्दा माथि उठेर मुख्यमन्त्री सिँहले देखाएको तत्परतालाई आफूहरूले आदर र सम्मान गरिरहेको प्रस्ट्याए । उनले मेलाका लागि सुदृढ सुरक्षा व्यवस्थापनसँगै अन्य कार्य ९० प्रतिशतभन्दा बढी भइसकेको जानकारी समेत दिए ।
गढीमाई मेला आगामी मङ्सिर १७ गतेबाट सुरु हुँदैछ । मेलामा नेपाल र भारतसँगै विभिन्न मुलुकबाट लाखौँको सँख्यामा श्रद्धालुभक्तजनहरू आउने गर्छन् । मेलामा मुसा, परेवा, बोको, राँगो र खरायो गरी पाँच जन्तुलाई पञ्चबलि चढाएपछि सर्वसाधारणले भाकलअनुसार बलि चढाउने गर्छन् ।