१९ पौष।सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकामा प्राय गणित बिषयको परिक्षाफल सोचे जस्तो नआए पछि जीतपुरसिमरा उपमहानगर भित्रका सामुदायिक विद्यालयमा गणित बिषय पढाउने शिक्षकहरुको क्षमता बिकाश तालिम संचालनमा ल्याएको हो ।शुक्रबार देखि जीतपुरसिमरा उपमहानगरपालिकाले आधारभुत तहमा गणित बिषय शिक्षण गर्ने ५ दिने क्षमता बिकाश तालिम औपचारिक रुपमा सुरु गरेको हो ।
तालिम उद्घाटन पछि बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले तालिमले विद्यार्थीको रुची अनुसार कसरी पढाउने,प्रविधीको प्रयोग र शैक्षिक सामाग्रीको प्रयोग बारे तालिमले सीप प्रदान गर्ने आफू अपेक्षा लिएको बताए ।गणितप्रति बिद्यार्थीहरुमा देखिएको त्रासलाई कम गर्न शिक्षणका परम्परागत विधिहरुको प्रयोगलाई हटाई रोचक, नविनतम् विधि एवम् प्रविधिहरुको प्रयोगमा जोड दिएर शिक्षण गराउने उद्देश्यले तालिमको आयोजना गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शिवजी प्रसादले जानकारी दिए ।
सिमरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सुरु भएको उक्त तालिम मंगलबार सम्म संचालन हुने छ।उपमहानगर भित्रका सामुदायिक विद्यालयमा कार्यरत रहेका गणित बिषयका शिक्षकहरुलाई बाहिर बाट बोलाइएका तीन जना दक्ष तथा अनुभवी प्रशिक्षकहरुले तालिम दिने छ।तालिममा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका ५४ वटा सामुदायिक विद्यालयका ७३ जना गणीत शिक्षकहरुको सहभागिता रहेको छ । कक्षा १ देखि ५ सम्म पढाई हुने विद्यालयका शिक्षकहरुको एउटा समूह र कक्षा ६ देखि ८ सम्म पढाई हुने विद्यालयका शिक्षकहरुको अर्को समूह बनाएर प्रशिक्षण दिने व्यवस्था मिलाईएको उपमहानगरका शिक्षा अधिकृत हरिशप्रसाद भट्टले जानकारी दिए ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको नतिजा परीक्षाफल प्रकाशित हुँदा लज्जास्पद भई हरेक बर्ष आलोचना हुँदै आएको छ । सरकारले अरबौं अरब रकम सरकारी विद्यालयको गुणस्तर सुधार गर्नको निम्ति लगानी गर्ने तर परीक्षाको नतिजा भने ओरालो तर्फ लाग्ने भएकाले पनि सामुदायिक विद्यालय र शिक्षकले आलोचना खेप्नु परेको हो ।अंग्रेजी,नेपाली र गणित विषयमा विद्यार्थी सामुदायिक विद्यालयमा कमजोर बनेको परिणामले देखाउँदै आएको छ । उक्त तालिम उद्घाटन कार्यक्रममा काठमाडौं महानगरपालिकाका योजना आयोग सदस्य शैलेन्द्र झा, उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख शिवजी प्रसाद, हरिश भट्ट, नेरामावि सिमराका प्रधानाध्यापक शंकर आचार्य लगायतको सहभागिता रहेको थियो ।