२२ पौष ।सिमरा : जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले सोमबार संघको सचिवालयमा एक समारोहबीच ईलाका प्रहरी कार्यालय सिमराका नवआगन्तुक प्रहरी नायब उपरीक्षक सुभद्रा लामा वाईबालाई स्वागत गरेको छ ।संघका अध्यक्ष मोहन शर्मा लामिछानेले विगत लामो समयदेखि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको सम्बन्ध प्रहरी प्रशासनसँग सुमधुर रहदै आएको बताउँदै आगामी दिनहरूमा पनि सम्बन्ध अझ बढी प्रगाढ रहने अपेक्षा व्यक्त गरे । उनले जीतपुरसिमराको आर्थिक, समाजिक एवं समग्र विकासका लागि ईलाका प्रहरी कार्यालयसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
संघका पूर्वअध्यक्ष सन्जय साहले संघको विगतदेखि वर्तमानसम्मको इतिहासका बारेमा जानकारी गराउँदै संघ व्यवसायीहरूको संस्था भए तापनि सामाजिक उत्तरदायित्वको कार्यमा पनि निरन्तर लागि रहको बताए ।उनले जीतपुरसिमरा उपमहानगरपालिकामा प्रहरीले उद्योग संगको समन्वयलाई प्रगाढ रुपमा कायम राख्नु पर्नेमा समेत जोड दिए ।जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरिले जीतपुरसिमराको वस्तुस्थितिबारे ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए ।
अध्यक्ष मोहन शर्मा लामिछानेले सबैको तर्फबाट खादा ओडाएर प्रहरी नायब उपरीक्षक सुभद्रा लामा वाईबालाई स्वागत तथा सम्मान ब्यक्त गरे । प्रहरि नायब उपरीक्षक वाईबा यहि पौष १५ गते प्रहरी प्रधान कार्यालय काठमाडौं बाट सरुवा भई ईलाका प्रहरी कार्यालय सिमरामा आएकी हुन । वाईवालाई सिमराले पहिलो पटक महिला प्रहरी प्रमुखका रुपमा स्वागत गर्ने अवसर पाएको स्वागत तथा परिचयात्मक कार्यक्रममा सहभागीहरुले बताए।
ईलाका प्रहरी कार्यालय सिमरामा सरुवा भएर आएकी प्रहरी नायब उपरीक्षक सुभद्रा लामा वाईबाको सफल कार्यकालको शुभकामना व्यक्त गर्नु को साथ साथै बिगतको समयमा प्रहरीको तर्फ बाट हुँदै आएको कमिकमजोरिलाई सुधार गर्दै लैजानमा कार्यक्रममा सहभागी भएकाहरुले आग्रह गरे। कार्यक्रममा प्रहरी नायब उपरिक्षक सुभद्रा लामा वाईबाले जीतपुरसिमरा उपमहानगरपालिका आर्थिक, सामाजिक एवम् रणनीतिक हिसाबले महत्वपूर्ण पालिका भएको बताउँदै उद्योगी व्यापारीको समस्या समाधान गर्नका साथै निजी क्षेत्रको उत्थानका लागि प्रहरी सदैव सहकार्य गर्न तयार रहेको बताए ।
साथै जिल्लाको शान्ति, सुरक्षा कायम राख्न कटिबद्ध रहने र कानुन प्रावधानमा रहेर व्यापार व्यवसाय गर्न सबैमा अनुरोध गरे ।ईलाका प्रहरी कार्यालय सिमरा बाट सरुवा भएर जिल्ला प्रहरी गुल्मी गएका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहाललाई समेत संघले एक कार्यक्रमको आयोजना गरेर बिदाई गरेको थियो । कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघमा पदाधिकारी ,पूर्व अध्यक्ष सल्लाहकारहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरिले गरेका थिए ।