फल्स बटन बनाएर गाँजा तस्करी, ट्र्याक्टरसहित ४ जना पक्राउ

पछिल्लाे समाचार

२० बैशाख।कलैया : बारा जिल्लाको आदर्शकोटवाल गाउँपालिका–३ स्थित वातारा क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक ट्र्याक्टर र चार जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको नेतृत्वमा खटिएको टोलीले शुक्रबार बिहान करिब २ बजे पार्किङ गरी राखिएको ट्र्याक्टर (ना.प्र. २–०३–००१ त ४८७६) को ढालामुनि फल्स बटन बनाएर लुकाइएको अवस्थामा १५ वटा काटुनमा प्याक गरिएको करिब २२५ केजी गाँजा बरामद गरेको हो।

ट्र्याक्टर चालक आदर्शकोटवाल गाउँपालिका–३ का अन्दाजी ३० वर्षीय नन्दकिशोर मुखिया बिनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिँदा घटनामा अन्य व्यक्तिहरूको संलग्नता खुल्न आएको थियो।प्रहरी टोलीले थप अनुसन्धानका क्रममा बारा जिल्लाको कोल्हवी नगरपालिका स्थित ‘रोज उड होटल’को कोठा नम्बर ३०३ बाट गाँजा तस्करीमा संलग्न तीन जनालाई समेत पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा नगरपालिका–४ बस्ने २१ वर्षीय कमाण प्रजा, कैलाश गाउँपालिका–४ देवतिस बस्ने २४ वर्षीय सिताराम प्रजा र बकैया गाउँपालिका–५ छतिवन बस्ने २२ वर्षीय नवराज मगर रहेका छन्। बरामद सामग्रीसहित चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको इलाका प्रहरी कार्यालय बारागढीले जनाएको छ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय