कमिसन नदिएपछि सेवाग्राहीमाथि हातपात र दुव्र्यवहार, पूर्वाधार विकास कार्यालय फेरि विवादमा

पछिल्लाे समाचार

असार १५, बारा । पूर्वाधार विकास कार्यालय बारामा भ्रष्टाचार ढाकछोप गर्न कर्मचारीहरूले सेवाग्राहीहरूमाथि हातपात, गालीगलौज र मानसिक दवाब दिने गरेको तथ्य फेरि एक पटक उजागर भएको छ। महेन्द्रनारायण निधि आवास कार्यक्रम अन्तर्गत सेवा प्राप्त गर्न आएका नागरिकलाई कमिसनको निहुँमा शारीरिक तथा मानसिक रुपमा दुःख दिइएको नयाँ घटना सार्वजनिक भएको हो।

सिम्रौनगढ नगरपालिका वडा नम्बर २ का सेवाग्राही सुनिल कुमार कुशवाहा आइतबार भुक्तानी प्रक्रिया अघि बढाउन कार्यालय पुगेका थिए। तर लेखापाल मुकेश प्रजापतिलाई झण्डै डेढ वर्षअघि बुझाइएको फाइल “हराएको” बताइएपछि जवाफ माग्दा उनलाई सार्वजनिक रूपमै गालीगलौज र दुव्र्यवहार गरिएको हो।कुशवाहाको आरोप अनुसार सब–इन्जिनियर प्रभात सिंह र राष्ट्रिय युवा संघ नेपाल बाराका अध्यक्षसमेत रहेका सदाम अन्सारीले उनीमाथि सार्वजनिक स्थानमै हातपात प्रयास गर्दै अपशब्द प्रयोग गरेका थिए। “कमिसन मागिएको थियो, मैले अस्वीकार गरेपछि फाइल हराइदियो, अहिले त सोध्न जाँदा उल्टै आक्रमण गर्छन्,” कुशवाहाले बताए।

उनले सिफारिस गरेका योजना अनुसार वडा नम्बर २ की कृष्णा देवी राम र वडा नम्बर ३ की लक्ष्मी महतो कोइरीको घर निर्माण कार्य सम्पन्न भइसकेको भए पनि अहिलेसम्म भुक्तानी नदिइएको गुनासो गरेका छन्। कुशवाहाले भने, “फाइल डेढ वर्षअगाडि लेखापाललाई बुझाएको छु, तर अहिले फाइल नै नभएको भन्दै कार्यालयले पन्छिन खोजिरहेको छ। यो फाइल हराउनु सामान्य होइन, यो त भ्रष्टाचार लुकाउने रणनीति हो।”

सब–इन्जिनियर प्रभात सिंहमाथि बाहिरका बेरोजगार युवालाई बोलाएर कार्यालयमै त्रास सिर्जना गरेको आरोप समेत लागेको छ। स्थानीय स्रोतका अनुसार, सिंह आफैलाई ‘हर्ताकर्ता’ ठान्दै सेवाग्राहीमाथि बलप्रयोग गर्नेजस्तो चरम दुराचारमा संलग्न छन्। यसले भुक्तानी प्रणालीमा गैरकानुनी कमिसनको सिण्डिकेट सक्रिय रहेको पुष्टि गर्छ। घटनाबारे प्रतिक्रिया लिन खोज्दा कार्यालय प्रमुख रिम्पु कुमारी यादवले फोन काटेर सम्पर्कविहीन भएकी छन्, जसले अझै गम्भीर प्रश्न उठाएको छ। स्थानीयबासी तथा सरोकारवालाहरूले दोषी कर्मचारीमाथि तत्काल अनुशासनात्मक छानबिन र कारवाहीको माग गरेका छन्।
यदि यस्ता घटनालाई तत्काल नियन्त्रण गर्न सकिएन भने नागरिक सेवामा सरकारी संयन्त्रप्रति जनताको विश्वास पूर्ण रूपमा गुम्ने खतरा देखिएको छ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय