असार २८ सिमरा : अविरल वर्षापछि हुन सक्ने डुबानको जोखिम न्यूनीकरण गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नम्बर १३ मा नाला सरसफाइ तथा पानी निकासको कामलाई तीव्र बनाएको छ। पछिल्लो दुई दिनदेखि भइरहेको वर्षाका कारण पानी जम्ने र डुबानको जोखिम बढ्न सक्ने क्षेत्रलाई लक्षित गर्दै उपमहानगरको नगरप्रहरी टोलीले वडा नम्बर १३ को पोता क्षेत्रमा जाम भएका नाला सफा गर्नुका साथै जेसीबीको प्रयोग गरी पानी निकासको व्यवस्था गरेको हो। सरसफाइसँगै पानीको सहज बहाव सुनिश्चित गर्ने काम भइरहेको नगरप्रहरीले जनाएको छ। नगरप्रहरीले यसअघि पनि वर्षायाममा विभिन्न स्थानका जाम भएका नाला सरसफाइ गर्दै पानीको निकास खुलाउने र डुबानको जोखिम न्यूनीकरण गर्ने कार्य गर्दै आएको छ।
वडा नम्बर १३ का वडाध्यक्ष हेमनारायण चौधरीले वर्षाका कारण स्थानीयवासीलाई कुनै असुविधा नहोस् भन्ने उद्देश्यले नगरप्रहरीको सहयोगमा तत्काल सरसफाइ तथा पानी निकासको काम अघि बढाइएको बताउनुभयो। उहाँले जोखिमयुक्त स्थानमा निरन्तर निगरानी भइरहेको र आवश्यकता अनुसार थप स्थानमा पनि पानी निकासको व्यवस्था गरिने जानकारी दिनुभयो। उहाँले वर्षायाममा नालामा फोहोर नफाल्न र डुबानको जोखिम देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन स्थानीयवासीसँग आग्रह गर्नुभएको छ।

