असार २८ सिमरा : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा नव प्रज्ञापन साहित्यिक पत्रिकाले आइतबार बाराको डुमरवानामा भानुसम्बन्धी कविता वाचन तथा साहित्यिक कार्यक्रम आयोजना गरेको छ। नव प्रज्ञापन साहित्यिक पत्रिकाका सम्पादक नवराज रिजालको सभाध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भानुभक्त आचार्यको नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानमा रहेको योगदानबारे चर्चा गरिएको थियो। वक्ताहरूले भानुभक्तले नेपाली भाषालाई जनस्तरसम्म पुर्याउन खेलेको भूमिका आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गर्न यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रममा नेरामावि सिमरा, जनता मावि रजघट्टा तथा विभूति सामुदायिक शिक्षा सदनका गरी ६ जना छात्रछात्राले भानुभक्तको व्यक्तित्व र कृतित्वसँग सम्बन्धित कविता वाचन गरेका थिए। उत्कृष्ट प्रस्तुति दिएका विद्यार्थीलाई प्रोत्साहनस्वरूप साहित्यिक पुस्तक प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा भाषा आयोगका पूर्व सदस्य गोपाल अस्क, साहित्यकार सीता अधिकारी, डुमरवाना कलेजका प्रमुख राधेश्याम शिवाकोटी, गजलकार इसहाक हुसेन, दीपक थपलियालगायतले भानुभक्तको योगदानबारे आफ्ना धारणा राख्दै कविता तथा साहित्यिक रचना वाचन गर्नुभएको थियो। सहभागीहरूले नेपाली भाषा, साहित्य र मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता साहित्यिक गतिविधिले सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।कार्यक्रमको सञ्चालन जनता माध्यमिक विद्यालय रजघट्टाका प्रधानाध्यापक तथा साहित्यकार राजु अधिकारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य साहित्यकार नारायण क्षेत्रीले राख्नुभएको थियो। कार्यक्रममा विदुर खड्का, भीम खकुरेल, श्याम भट्टराई, सागर ठाडा मगरलगायत साहित्यप्रेमी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

