वडाध्यक्ष चौधरी द्वारा फत्तेपुर बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

पछिल्लाे समाचार

बारा, २५ असार। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ फत्तेपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई वडा कार्यालयले विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।वडास्तरीय बजेट अन्तर्गत विद्यालयलाई एक थान ल्यापटप, १५ थान पंखा, एक थान ब्लुटुथ स्पिकर, दराज, लकर तथा बाल विकास कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि विद्यालय झोला वितरण गरिएको हो। वडा नम्बर १२ का वडाध्यक्ष श्यामबाबु चौधरीले बिहीबार आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अक्षय चौधरीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो।

सामग्री हस्तान्तरणपछि वडाध्यक्ष श्यामबाबु चौधरीले गुणस्तरीय शिक्षाको आधार राम्रो शैक्षिक वातावरण भएकाले वडा कार्यालयले विद्यालयको आवश्यकता अनुसार सहयोगलाई निरन्तरता दिने बताउनुभयो। उहाँले विद्यार्थीलाई सहज र प्रविधिमैत्री वातावरणमा अध्ययन गर्ने अवसर सिर्जना गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्नुभयो। प्रधानाध्यापक अक्षय चौधरीले वडा कार्यालयबाट प्राप्त सहयोगले विद्यालयको पठनपाठन व्यवस्थापनमा उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यालयको आवश्यकता पहिचान गरी आवश्यक सामग्री उपलब्ध गराएकोमा वडा कार्यालयप्रति धन्यवाद दिँदै यस्ता सहयोगले विद्यार्थीको सिकाइ वातावरण अझ प्रभावकारी बन्ने बताउनुभयो। विद्यालयका विद्यार्थीको शैक्षिक गुणस्तर सुधार र सिकाइ वातावरणलाई थप सहज बनाउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय