कलैया। बाराको पचरौता नगरपालिका–१ अन्तर्गत नेपाल–भारत सीमासँग जोडिएको जमुनिया खोलाको किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। आइतबार राति शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृतक भारतीय नागरिक रहेको खुलेको छ। उहाँका आफन्तलाई भारतबाट सम्पर्क गरी बोलाइएको प्रहरीले जनाएको छ।
जमुनिया खोलाको किनारमा बेवारिसे अवस्थामा शव देखेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालतर्फको पिपरपाती प्रहरी चौकीलाई जानकारी गराएको थियो। त्यसपछि प्रहरी सहायक निरीक्षक समसुदिन मिया तेलीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरसमेत घटनास्थलमा पुगेर निरीक्षण गर्नुभएको थियो। प्रहरीले शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखेको जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

