असार २२ वीरगञ्ज। वीरगञ्जको मुख्य सडक २५–२५ मिटर फराकिलो बनाउने अभियानअन्तर्गत सोमबार बिहानदेखि सडक अतिक्रमण गरेर निर्माण गरिएका घर, पसल तथा अन्य संरचनाहरू हटाउने कार्य पुनः सुरु गरिएको छ। सडक डिभिजन कार्यालय हेटौँडा र वीरगञ्ज महानगरपालिकाको संयुक्त टोलीले डोजर परिचालन गर्दै सडकको सीमाभित्र रहेका संरचना हटाउन थालेको हो। स्थानीयको विरोध र कानुनी प्रक्रियाका कारण केही समय रोकिएको अभियानलाई यसपटक कडा सुरक्षा व्यवस्थासहित अघि बढाइएको छ। डोजर सञ्चालनअघि आइतबार साँझ महानगरपालिका र सडक डिभिजन कार्यालयले प्रभावित क्षेत्रमा माइकिङ गर्दै सर्वसाधारणलाई भवन खाली गर्न र आवश्यक सामान सुरक्षित स्थानमा सार्न आग्रह गरेका थिए। सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले अन्तिम सूचना जारी गरिएको महानगरपालिकाले जनाएको छ।
सडक विस्तारको विरोध गर्दै यसअघि विभिन्न प्रदर्शन भएका कारण सोमबारको अभियानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उल्लेख्य परिचालन गरिएको छ। विशेषगरी गण्डक चोकदेखि मितेरी पुलसम्मको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। करिब तीन दशकदेखि विवादमा रहेको यस सडक विस्तार परियोजनाले गत फागुनमा सर्वोच्च अदालतबाट कानुनी स्पष्टता पाएपछि कार्यान्वयनको बाटो खुलेको थियो। यद्यपि, ‘वीरगञ्ज बचाउ सङ्घर्ष समिति’ले उचित मुआब्जा र पुनःस्थापनाको व्यवस्था नगरी संरचना हटाउन लागिएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ। उता, वीरगञ्ज महानगरपालिकाले भने सडक विस्तारलाई व्यवस्थित, आधुनिक र ट्राफिक जाममुक्त सहर निर्माणका लागि अपरिहार्य कदम भएको बताउँदै अभियानलाई निरन्तरता दिने जनाएको छ।

